अल कायदा प्रमुख अल–जवाहिरी जीवितै भएको खुलासा, लादेनको मृत्युपछि प्रमुख भएका थिए

डिसी नेपाल
२३ जेठ २०७८ १६:४६
27.6k
Shares

काठमाडौं। आतंकवादी संगठन अल कायदाका धेरैजसो लडाकु र नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बसिरहेको संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा खुलासा भएको छ । यसरी बसिरहेकाहरुमध्ये संगठनका प्रमुख अयमन अल–जवाहिरी पनि भएको बताइएको छ । उनी अहिले पनि जीवितै रहेको र निकै कमजोर अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । यससँगै अल जवाहिरीको मृत्यु भएको भन्ने दावी यसअघिका दावीहरुको खण्डन भएको छ ।

यसअघि अमेरिकी अखबार न्यूयोर्क टाइम्सका पत्रकार हसन हसनले अल कायदासँग निकट स्रोतको हवाला दिँदै गएको नोभेम्बरमा ‘एक महिनाअघि जवाहिरीको प्राकृतिक कारणले मृत्यु भएको’ दावी गरेका थिए । जवाहिरीको गोप्य निवासमा प्राकृतिक कारणले मृत्यु भएको हसनले बताएका थिए । जवाहिरी २०११ मा ओसामा बिन लादेन मारिएपछि अल कायदाको प्रमुख बनेका थिए । लादेन २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारवाहीमा मारिएका थिए । जवाहिरी १९८८ मा लादेनसँगै अल कायदा स्थापना गर्नेमध्येका थिए ।

पीटिआइको रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघको एनालिटिकल सपोर्टको १२ औं रिपोर्ट र प्रतिबन्ध निगरानी दलका सदस्य देशहरुले बताएअनुसार अल कायदा नेतृत्वको अहम हिस्सा अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा छन् । यसअघि जवाहिरीको खराब स्वास्थ्यका कारण मृत्यु भएको खबर आए पनि पुष्टि हुन सकेको थिएन । रिपोर्टमा जवाहिरी कुन देशको सीमाभित्र छन् भन्ने कुरा भने खुलाइएको छैन । अल जवाहिरी अमेरिकाको मोस्ट वान्टेड आतंकवादीको सूचीमा छन् । अमेरिकाले जवाहिरीको टाउकोको मूल्य अढाइ करोड डलर तोकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.