चीनबाट अनुदान प्राप्त काेराेना विरूद्धकाे खोप आजबाट लगाइँदै
फाइल फाेटाे।
काठमाडाैं। चीन सरकारले अनुदानमा दिएकाे काेराेना विरूद्धकाे खाेप आज बाट ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाइँदै छ। चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेका छन्।
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। त्यस्तै, ललितपुर महानगरपालिकाले २९ वटै वडामा र भक्तपुर नगरपालिकले पनि आफ्नो १० वटै वडामा खोप केन्द्र तोकेको छ ।
भेरोसेल खोपको पहिलो मात्रा (डोज) मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा गत शुक्रबार बसेको जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बसेको बैठकले हरेक वडामा एक–एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्ययअनुसार कामपाले ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने भएको हो।
चीन सरकारको दोस्रोपटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो। यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै आठ लाख मात्रा खोप उपलब्ध गराएको थियो।







डिसी नेपाल








Facebook Comment