प्रतिष्ठित ‘फेतिसोभ जर्नालिज्म अवार्डस’को विज्ञ काउन्सिलमा २ नेपाली पत्रकार
काठमाडौं। प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार ‘फेतिसोभ जर्नालिज्म अवार्डस’को निर्णायक मण्डलको विज्ञ काउन्सिल सदस्यमा २ नेपाली पत्रकार मनोनित भएका छन् । नेपाली पत्रकार कुन्द दीक्षित र बबिता बस्नेत यो पुरस्कारको विज्ञ काउन्सिलमा मनोनित भएका हुन् । यो विज्ञ काउन्सिलले विश्वभरीका पत्रकारहरु सहभागी हुने यो पुरस्कारको विजेताहरु छनोट गर्नेछ ।
यो पुरस्कार रुसका अर्थशास्त्री, व्यवसायी, उत्पादक, वैज्ञानिक तथा समाजसेवी ग्लेब फेतिसोभले स्थापना गरेका हुन् । यो पुरस्कार शान्तिका लागि अतुलनीय योगदान, नागरिक अधिकारका लागि योगदान, अतुलनीय अनुसन्धानात्मक रिपोर्टिङ र वातावरणीय पत्रकारितामा उत्कृष्टता गरी कूल ४ विधामा दिइन्छ । यी विधामा विजेताहरु छान्नको लागि छुट्टै ज्यूरी र विज्ञ काउन्सिल बनाइएको हुन्छ त्यही विज्ञ काउन्सिलमा दीक्षित र बस्नेत मनोनित भएका हुन् ।
दीक्षित पुराना नेपाली पत्रकार हुन् । अंग्रेजी भाषामा प्रकाशित हुने साप्ताहिक नेपाली टाइम्सका सम्पादक रहेका दीक्षित काठमाडौं विश्वविद्यालयमा पत्रकारिता विषय अध्यापन समेत गर्छन् । कोलम्बिया विश्वविद्यालयबाट ग्रयाजुएट दीक्षितले यसअघि बीबीसी रेडियोमा पनि काम गरेका थिए । इन्टर प्रेस सर्भिसमा एसिया प्रशान्त क्षेत्रीय सम्पादक, पानस साउथ एसियाका संस्थापक, खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष रहेका दीक्षितका पुस्तकहरुमाथि विभिन्न शैक्षिक संस्थामा पढाइ हुन्छ ।
बस्नेत अहिले मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष तथा घटना र विचार साप्ताहिककी सम्पादक हुन् । रेडियो नेपालबाट प्रसारण हुने घटना र विचार कार्यक्रमसँग समेत आबद्ध रहेकी बस्नेत सञ्चारिका समूहकी अध्यक्ष रहिसकेकी छिन् । उनले इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारिता प्रशिक्षण समेत लिएकी छिन् ।







डिसी नेपाल








Facebook Comment