असंख्य वेबसाइट, ठूला मिडिया, सामाजिक संजालदेखि सरकारी वेबसाइट एक घण्टा ठप्प
काठमाडौं। मंगलबार इन्टरनेटको ठूलो कन्टेन्ट डेलिभरी नेटवर्क एक घण्टामा लागि ठप्प हुँदा कैयौं ठूला अन्तर्राष्ट्रिय मिडिया, कैयौं लोकप्रिय एपहरु, सामाजिक संजालहरु र सरकारी वेबसाइट समेत ठप्प भएका छन् । मंगलबार प्रमुख कन्टेन्ट डेलिभरी नेटवर्क फास्टली एक घण्टाका लागि डाउन भएको थियो । यो अवधि अत्यन्तै ठूलो संख्यामा इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने सामग्रीहरु ठप्प रहेको सीएनएनले जनाएको छ ।
फास्टलीले अन्तर्राष्ट्रिय मिडियाहरु सीएनएन, न्यूयोर्क टाइम्स, द गार्डियन लगायतका कैयौं प्रतिष्ठित समाचार संस्थाको अनलाइन संस्करण सपोर्ट गर्छ । यसले सामाजिक संजाल एपहरु ट्वीच, पिन्टेरेस्ट, एचबीओ म्याक्स, हुलु, रेडिट, स्पोटिफाइ लगायतका सेवाहरुको लागि पनि कन्टेन्ट डेलीभरीको काम गर्छ । यो इन्टरनेट आउटेजले विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजन, टार्गेटसहित बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युके पनि प्रभावित भयो ।
क्लाउड सेवा प्रदायक फास्टलीमा भएको आउटेजका कारण यो समस्या भएको थियो । कम्पनीले मंगलबार बिहान आफ्नो आधिकारिक वेबसाइटमा एक सूचना जारी गर्दै आफ्नो सिस्टममा समस्या आएको र त्यसलाई ठिक गरिएको बताएको थियो । साइटहरुका लागि सेवा मंगलबार अमेरिकी समयअनुसार बिहान ७ बजेतिर पुनः सुचारु भएका थिए । फास्टलीले केही प्रयोगकर्ताले केही समयका लागि लोड हुने केही बढी समय पर्खिनुपर्ने हुन सक्ने बताएको छ । यो सेवा आउटेजले अमेरिकी महाद्विपसहित युरोप, एसिया र दक्षिण अफ्रिकाका कैयौं देशहरु प्रभावित भएका छन् ।







डिसी नेपाल








Facebook Comment