एनिहाउ कुर्सी बचाउ

डिसी नेपाल
३० जेठ २०७८ ८:०३

संविधान अनुसार काम चलाउ हैसियतमा पुगेका भनिएका भएपनि आफू र आफ्नाका अगाडि सर्वेसर्वामा गनिएका सरकार प्रधानलाई कुनै नीति नियम विधि पद्धति आदि जस्ता हावादारी ठहरिइ सकेका शब्दहरुले कुनै असर पार्ने र यिनलाई कुर्सीबाट झार्ने ताकत र औकात भएका कोही भएजस्तो देखिँदैन।

काम चलाउ भनेपछि काम त चलाउनै पर्यो। अहिलेसम्म भएका सबैले काम मात्रै चलाएका हुनाले कसैले सिन्कोसम्म ढलाएका देखिए जस्तो लाग्दैन। अहिलेसम्म जनता र देशको काम चलाए भन्ने सम्झेर बसेका जनताले सरकार प्रधानले त यसोउसो गरेर आफ्नै मात्रै काम चलाउँदै आएका र देश र जनताको नाममा खानसम्म खाएका मात्रै रहेछन् भनेर भर्खरै थाहा पाए रे भनेको सुनेपनि कसैले पत्याएका चाहिँ छैनन्।

काम चलाउ भएपनि आफ्नै दलका झण्डै आधाआधी सहकर्मीहरु र राष्ट्र प्रधान बाहेक अरुले सकेसम्म गलाउ र कुर्सीबाट ढलाउ नीति लिएका हुनाले यिनलाई अहिले काम चलाउन पनि निकै गाह्रो पर्दै आएको हो कि भन्ने मुर्खहरुलाई जवाफ दिन यिनले दक्षिणतिरका स्वघोषित अत्यन्त जनहितकारी अनि नाकाबन्दीकारी भनेर चिनिएका धुन्धुकारीहरुलाई नाम्लो लगाएर बोक्दै चाहेको मन्त्रालय सुम्पिदै सत्ताको दाम्लो जोगाउन लागि परेका छन् भन्ने हल्ला सुनिन्छ।

संसदीय जोड घटाउतिर लाग्दा आफूलाई पक्का डाँडो कटाउमा पार्छन् र आफैं सर्वेसर्वा हुँ भनेर बसेको कुर्सीबाट गलहत्याएर झार्छन् अनि राष्ट्र प्रधानसहित आफूलाई पनि अलपत्र पारेर जिउँदै मार्छन् भन्ने डर भएपछि सबैभन्दा राम्रो उपाय भनेको घुमाइ फिराइ संसद बिघटन गरिदिएपछि न रहे बाँस न बजे बाँसुरी। संविधान अनुसार सरकार प्रधान बनाउने थलो नै विघटन भएपछि बिरोधी र आकाँक्षीहरु अदालत धाउने अनि अदालतले जागिर जोगाइदेला भनेर आँ मुख बाउने गर्न थालेका छन्।

यत्रा वर्षसम्म कुनै माखो नमारिकन टेबुल ठटाएको भरमा फेला परेजति भुँडिमा अटाएको छँदाखाँदाको माननीयको जागिर चट् भएपछि आपत् पर्नु त स्वाभाविक नै हो। कोही सरकार प्रधानको कुर्सी पड्काउने, कोही गतिलो मन्त्रालय छड्काउने र कोही ठूलै भाग हात पार्न अरुलाई समेत भड्काउने बिभिन्न खाले माननीयहरुले पाएसम्म ठूलै माछो उछिट्याउन बल गरिरहेका छन्।

आफूले कुनै हालतमा बिश्वासको मत नपाउने र संसदमा गयो भने आफू दोहार्‍ याएर नआउने पक्का भएकोले सरकार प्रधानले राष्ट्र प्रधानको काँधमा बन्दुक राखेर संसदलाई पड्काएका अनि काम चलाउको सपथ नै नलिइकन म बाहेक अरु कोहि योग्य छँदै छैनन् भनेर गाँठो अड्काएका हुन्।

संसदमा बिश्वासको मत लिँदा नतिजा आउन एकदुई घण्टाभन्दा बढी समय नलाग्नेमा अदालतमा जाँदा समयलाई जति तन्काएपनि र बिभिन्न इशारा गरेर जति आँखा सन्काएपनि भयो। आफ्नै पकेटजीवि न्यायमूर्ति चाहिन्छ भन्ने बिवादले संबैधानिक इजलास गठन हुनै चानचुन दुई हप्ता जति लागिसक्यो।

बहस हुन र त्यो समाप्त हुन कति समय लाग्ने हो? महा विद्वान वकिलहरुले बहसलाई कताकता पुर्‍ याउने हुन्? दलीय झण्डातिर सगर्व झुकाववाला न्यायमूर्तिहरुको डण्डाले कस्तोकस्तो नियम कानुनलाई ठण्डा बनाएर केही नबुझेजस्तो र थाहा नपाएजस्तो गरी आफ्नाको हातमा सुनको अण्डा हाल्न खोज्दा के के हुने हो? स्वदेश र बिदेशका दृश्य अदृश्य शक्तिको भक्तिले कताकता थर्काउने, ककसको कान मर्काउने अनि ककस्को खल्ती चर्काउने हो? हामिजस्ता साना दिमागवालाहरुले बुभ्mन त्यति सजिलो छैन।

सुडी थरका बिहारी यिनले महतो थर राखेर यतै घर भएको नक्कली बिवरण पेश गरेर नक्कली नागरिकता लिएर अहिलेसम्म यसैको आधारमा खाइपाइ आएका र राज्यका सबै सुखसुविधा पाएका छन् भन्ने सप्रमाण हल्ला हुँदापनि कसैले छानवीन र कारवाही गर्न नसक्नु पनि चरम राष्ट्रवादी सरकारको लम्पसारवादी नीतिको सानोतिनो उदाहरण हुनसक्छ।

खराब किड्निीले छोटो समयमा लैजान्छ र सबैथोक एकलौटी हसुर्छु भन्ने खोटो बिचार लिएर गाँसिन आएका स्वघोषित महान नेता र गुट अनि आफैसित अध्यक्षको चुनावमा हारेका र आफ्नै कार्यकर्ताले अध्यक्षबाट बरिष्ठ नेतामा झारेका नेता र गुटको लगातारको असहयोग पेलान कारबाही दुत्कार अबहेलना दोषारोपण गाली बेइज्जती लाञ्छना अति बिरोध आदि हुँदै कुर्सीबाट हटाउन अरु जोसुकैसित जस्तोसुकै सम्झौता गर्नपनि तयार भएपछि बाहिर जतिसुकै फुर्तिफार्ती गरेजस्तो देखाएपनि भित्रभित्र अप्ठ्यारो त पर्ने नै भयो।

त्यही भएर कुर्सी टिकाउन र राजनीतिमा आफ्नो बोली बिकाउन जोसित पनि लम्पसार पर्न कसैले कसैलाई सिकाउन परेन। यसभन्दा अघि आफूले मान्छे समेत नगनेका र कतै काम लाग्ने नभनेका मधेशवादी दलका दक्षिणी छिमेकवादी दलका झण्डै सबैजसो नेताहरुलाई मन्त्री पदको उपहार टक्र्याएर दिल्ली दरबारको कृपा प्राप्त गर्ने र संसदीय जोड घटाउमा पनि सहज संख्या कटाउको फर्मुला लगाएर छानीछानी अनि जे भनेपनि त्वं शरणम् गरेर मानीमानी र यिनीहरुबाट देश र जनताको कुनै काम हुँदैन भन्ने जानीजानी भएपनि हातखुट्टा तानीतानी एकैचोटी दिल्ली र काम न काजका सिल्लीहरुको शरणमा पुग्न पर्‍ याे।

यसो गर्नु र मौकामा कुर्सीको लागी जतापनि घोप्टो पर्नु ज्यादै जायज हो। आफ्नो शक्ति पुगुन्जेलसम्म कसैलाई गन्न आवश्यक नपरेपनि आफ्नो नाडी गल्दै गएपछि र औकात ढल्दै गएपछि चल्दै आएको तरिका परिबर्तन गरेर ठूलो दरबारको आड लिएर आफ्नो घरबार जोगिन्छ अनि परालका खुट्टा टेकेर भएपनि सुखशयल भोगिन्छ भने पछि हट्ने कुरै आएन।

आफूलाई अत्यन्त राष्टवादी भनाएर नथाक्ने र ठूलाठूला आदर्शका गफ छोड्दै दक्षिणको गुलामी नगरी कुनै छाक नपाक्ने सोचले ग्रस्त अनि उताको गुलामी नगरी राष्ट्रवादका चर्का कुरा मात्रै गरेमा कुर्सी टिक्दैन भनेर त्रस्त सरकार प्रधानले उतैका प्यादाहरुलाई महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएर अलि लामो समय कुर्सीमा टिक्ने चाल चलेकाले उताबाट गाल नपर्ने पक्का भयो।

त्यसमा उपप्रधानसहित उताको नेतृत्व गर्ने नाकाबन्दीमा पारी बसेर वारि ढुंगा हान्दै छिमेकीको साथै संसारका अरु शक्तिशाली राष्ट्रहरुलाई अझ कडा नाकाबन्दी गर्न आफैं खडा भएर आह्वान गरेका नेताको घडा नोटले भरिने गरी अवसर दिएका छन्।

उपप्रधानमन्त्रीको सपथ लिनासाथ र लगत्तै राष्ट्र बिखण्डनवादी अभिव्यक्ति दिनासाथ सबैले बिरोध गरेपनि सरकार प्रधानलाई यसको कुनै सूचना नपुग्नुले दुवैको राष्ट्रवाद एकै किसिमको रहेछ भन्नेपनि प्रष्ट भयो।

सुडि थरका बिहारी यिनले महतो थर राखेर यतै घर भएको नक्कली बिवरण पेश गरेर नक्कली नागरिकता लिएर अहिलेसम्म यसैको आधारमा खाइपाइ आएका र राज्यका सबै सुखसुविधा पाएका छन् भन्ने सप्रमाण हल्ला हुँदापनि कसैले छानवीन र कारवाही गर्न नसक्नु पनि चरम राष्ट्रवादी सरकारको लम्पसारवादी नीतिको सानोतिनो उदाहरण हुनसक्छ।

बाबुको नागरिकता वा राष्ट्रियताको आधारमा छोराले नागरिकता लिन र त्यसैको आधारमा नागरिकता दिन पर्नेमा छोराले नागरिकता लिएको निकै बर्षपछि मात्रै यिनका बाबुले बंशजको नागरिकता लिएको भन्ने हल्ला अहिलेसम्म कुनै सरकार प्रधानको कानमा नपुग्नु पनि लम्पसारबादि राष्ट्रवादकै नमुना हुनपर्छ।

काम चलाउ भएर आफैंलेपनि सपथ नखाएको र बिश्वासको मतपनि नपाएको अबस्थामा निकै धेरै संख्यामा परेका मुद्दा खेपेर भएपनि सबैलाई हेपेर दुईपटकसम्म मन्त्रिमण्डल हेरफेर र बिस्तार गरेर बिगतका मन्त्रिमण्डलमा हुँदा भ्रष्टाचारमा नाम र दाम दुवै कमाएका,नगर पालिकाको उपमेयरमा समेत लज्जास्पद मत पाएर हारेका,आफ्नै पार्टीले प्रदेश सांसदमासमेत अयोग्य ठहर्याउँदै पदबाट झारेका, यता लागेर मन्त्री पद खान नपाए मधेशवादीकै अर्को खेमामा लाग्ने धम्की दिएर बाजी मारेका,दक्षिणी दूतावाासमा गएर राजदूतभन्दा तलका कर्मचारीहरुको घोर चाकडी गरी यता निकै शक्तिशाली नेताको छाप पारेका बेलाबेलामा दिल्ली पटना जस्ता शहरहरुमा पुगेर त्यहाँका बाबुजीस्तरका कर्मचारीसँग अनेक नाता लगाइ रोइकराइ गरेर एक दुई जना नेताहरुसँग ङिच्च दाँत देखाउँदै उभिएर खिचेको फोटो देखाएर आफ्नो पहुँच उता राम्रै भएको दाबी अघि सारेका,सांसद सुविधामा पाएको रातो पासपोर्ट राम्रो दरभाउमा बेचेर विदेशतिर मान्छे तारेका आदि आदिजस्ता एकसेएक क्षमतावान र अतियोग्य व्यक्तित्वहरुको सहभागिताले सरकारको सतित्व निकै लामो समयसम्म जोगिँदै कुर्सीको अस्तित्व बचिरहने कुरामा ढुक्क हुन सकिन्छ।

अझ कुनै मन्त्रिका श्रीमतीको भाग पुगकोले उनको सट्टा श्रीमानलाई अझ माथिल्लो उपप्रधान मन्त्री बनाइएको र संबिधान अनुसार मन्त्री हुने योग्यता गुमाएका मन्त्रीकी श्रीमतीलाई ज्यादै महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएर पुरस्कृत गरिएको काम त ज्यादै उत्तम भनेर सबैतिर प्रशंसापूर्बक खबर छरिएको छ।

यसबाट मन्त्री निवास खाली गर्ने र अनावश्यक झन्झट समेत टर्ने हुनाले यसलाई जनताले ज्यादै सुझबुझपूर्ण कदम मानेका अनि सरकार प्रधानको ज्यादै उच्च बिचार भनेर मानेका छन्।

श्रीमानको मन्त्री हुँदाको अनुभव र श्रीमतीको मन्त्री हुँदाको अनुभवले श्रीमान श्रीमतीकै योग्यता पूरा पुग्ने कुरा पनि शानदार तरिकाले प्रमाणित गरिएको र कुर्सी जोगाउन सहयोग पुग्छ भने जस्तो पुरस्कारपनि दिन मिल्ने नजिर बजारमा छरिएको छ। राणा शासनमापनि श्री ३ महाराज ज्यादै खुसी भएर यति आकर्षक पुरस्कार दिने चलन नदेखिएकाले नपाउनेलाई जलन भएपनि आश्चर्यको रुपमा लिन हुँदैन।

आफूलाई अत्यन्त राष्टवादी भनाएर नथाक्ने र ठूलाठूला आदर्शका गफ छोड्दै दक्षिणको गुलामी नगरी कुनै छाक नपाक्ने सोचले ग्रस्त अनि उताको गुलामी नगरी राष्ट्रवादका चर्का कुरा मात्रै गरेमा कुर्सी टिक्दैन भनेर त्रस्त सरकार प्रधानले उतैका प्यादाहरुलाई महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएर अलि लामो समय कुर्सीमा टिक्ने चाल चलेकाले उताबाट गाल नपर्ने पक्का भयो।

केन्द्रमा आफ्नो कुर्सी जोगाउने र प्रदेशमापनि आफ्नै दलको सरकार बनाएर यताकै जस्तो सुखसुबिधा भोगाउने चक्करमा सबैतिर टक्कर दिन खोज्दा आफ्नै भनिएका बिरोधी गुटकाले ठक्कर दिएकोले गण्डकी प्रदेशको आप्mनो सरकार ढल्यो। बिपक्षी गठबन्धन र आफ्नै दलका बिरोधी गुटले अन्त पनि अरुकै जन्त हिँडिदिए भने कन्त बिजोग पर्ला भन्ने डर भएकोले यता आफ्नै कुर्सी बचाउनु कि प्रदेशका मुख्यमन्त्रीको कुर्सी बचाइदिनु।

कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा निकै बल लगाउँदा पनि शत्रुतापूर्ण सुमधुर सम्बन्ध भएको दलका मुख्य मन्त्रीलाई हटाउन र त्यो दललाई धुलो चटाउन नसकेर आप्mनै औकात घटाउन पुगेपनि मुटुमाथि ढुंगा राखि हाँसेर टार्न पर्‍ याे। लुम्बिनी प्रदेशमा लाज शरम सबै पचाएर र नाँगो नाच नचाएर भएपनि मुख्य मन्त्रीको कुर्सी बचाएर देखाइयो।

आफू जसरीपनि टिक्ने, विरोधीको सरकारलाई झिक्ने र कुर्सी जोगिन्छ भने जोसित पनि भाउताउ मिलाएर बिक्ने ज्यादै परिस्कृत प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको अनुभव गर्न पाएर जनता प्रफुल्लित छन्।

नागरिकता ऐन संशोधन अध्यादेश बिरुद्धको रिटलाई राष्ट्र प्रधान र सरकार प्रधानले जस्तै उच्च कदर गर्दै सर्वोच्चलेपनि आँखा चिम्लिएर सदर गरिदेला भनेर ढुक्क परेकोमा बदर पो गरिदिएछ।

मधेशवादी दलको एउटा चोइटो र सरकारबीचको सबैभन्दा महत्वपूर्ण सम्झौताको बिषय नै अदालतले अमान्य घोषित गरेपछि र आफूखुसी नागरिकता बाँड्ने उद्देश्य टरेपछि सरकारमा सामेल भएका त्यताका नेताहरुले आफूसित हुँदै नभएको नैतिकताको आधारमा राजीनामा दिने तयारी गरेका छन् रे भन्ने हल्ला सुनेर सरकार प्रधानको मुड खराब भएकोलाई गुड खबर भनेर प्रचार गर्न खोज्ने बिरोधीहरु पनि पर्ख र हेरको स्थितीमा छन् रे।

यो फैसलाबाट मधेशको नाममा राजनीति गरेर पारिबाट अनागरिकहरु भित्र्याएर ठूलो आर्थिक र राजनीतिक फाइदा उठाउने सोचवालाहरु दुखी हुनु त स्वाभाबिकै हो।

अब दिल्लीका प्रभुहरुसित के मुखले बोल्नु र कुर्सी जसरीपनि जोगाइदिन पर्यो भनेर यहि मुख कसरी खोल्नु भनेर सरकार प्रधानलाईपनि पर्नु पिर पर्यो रे भन्ने सुनेर उनि जस्तो योग्य र चरम राष्ट्रवादी नेताका परम भक्त जनतापनि दुखी हुँदै शरमले ग्रस्त भएर अब के के हुने हो भनेर त्रस्त भएका छन् रे भन्ने बजारे हल्लामा कसले बिश्वास गर्ला र? यसबाट ठूलो आम्दानी हुने भयो भनेर ठूलो मुख बाएर तयारीसाथ बसेका स्थानीय तहका पदाधिकारी र स्थानीय प्रशासकहरुपनि भित्र भित्र निकै दुखी भएका अनि न्यायमूर्तिलाई सराप्नेतिर गएका छन् रे भन्ने हल्ला चलाउनेलाई गलाउनेपनि कोही भएन।

दलको ह्विप उल्लंघन गरी फ्लोरक्रस गर्दा संसदबाट ठाडै निष्काशनमा परिन्छ र एकैचोटी बेवारिसेमा झरिन्छ भनेर संसदीय कानुनसित डराउन नपर्ने नजिर स्थापित भएपछि आफ्नो दल छोडेर अर्को दलका नेताको समर्थनमा भोट हाल्ने र सही गरेर आफूखुसी कदम चाल्ने सांसदहरुले रिट हाल्दै मुद्दा जित्दै गर्न थालेपछि संसदीय दलका नेतालेपनि त्यस्तालाई केही लछार्न र भविष्यमा उठ्न नसक्ने गरि पछार्न नसक्ने भए।

यसबाट जो जता लागेपनि र जुनसुकै बेला जतातिर भागेपनि केही नहुने पक्का भयो। प्रमुख प्रतिपक्षी दलका नेताको समर्थनमा सहिछाप गर्ने र सरकार प्रधानलाई दागा धर्ने आफ्नै दलका बरिष्ठ सहितका नेताहरुलाई तर्साउने एउटा बलियो डण्डापनि यसैबाट ठण्डा भएजस्तो छ।

केन्द्रको सरुवा रोग प्रदेशतिरपनि द्रुतगतिमा सरेको,उतापनि समर्थन क्रमशः झरेको,कतिपय आफ्नालेपनि अर्कै दलको घाँस चरेको र सबैतिर एकछत्र शासन गर्छु भन्ने अहंकार बिस्तार टरेको पो हो कि भन्ने उपबुज्रुकहरुलाई अलि खतरा खालको उखानबाट जवाफ दिन ढिलाई गर्न हुँदैन।

यी सबै कृयाकलाप र काम कारवाहीहरुलाई नियालेर हेर्दा वर्तमान सरकार प्रधानलाई आफ्नो सबैभन्दा प्यारो कुर्सी बचाउन पाउँछु कि पाउन्न भनेर भाउन्न भएकोले त्यस बाहेक अन्त कतै ध्याउन्न नहुनाले देश र जनताको काम गर्न भ्याउन्न कि भन्ने लागेको हो कि जस्तो देखिएको मात्रै हो।

वास्तवमा उहाँ अझैपनि देश र जनताको पक्षमा पूर्ण कटिबद्ध हुनुहुन्छ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ। तर यसको लागि कुर्सी बचाउनु र सबैथोक पचाउनु पहिलो शर्त हुनै पर्यो नि। त्यही भएर उहाँले एनिहाउ कुर्सी बचाउको लागि गरेका सम्पूर्ण प्रयास र कृयाकलापहरु ज्यादै जायज र सही छन् भन्ने जनताको बलियो राय रहेको छ। उहाँको आफ्नो लागि त होइन देश र जनताको लागि गरिएको अत्यन्त राम्रो काम हो एनिहाउ कुर्सी बचाउ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *