साउदी अरेबियाले यस वर्ष पनि विदेशीलाई हजको अनुमति नदिने
काठमाडौं। मुस्लिमहरुको सबैभन्दा पवित्र स्थल मक्का मदिनामा यस वर्ष पनि विदेशी मुस्लिमहरु जान पाउने छैनन् । साउदी अरेबियाले आफ्नो देशभन्दा बाहिरका मुस्लिमलाई हजको लागि मक्का मदिनामा प्रवेश नदिने भएको छ । साउदीबाहिरका मुस्लिम हजका लागि जान नपाएको यो लगातार दोस्रो वर्ष हुनेछ । साउदी अरेबियाको हज एवं उमरा मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले शनिबार जनाएअनुसार कोरोना संक्रमणका कारण यस वर्ष पनि अन्य देशका नागरिकलाई मक्का मदिना यात्राको अनुमति दिइने छैन ।
यस वर्ष केवल ६० हजार जनाले मात्रै हजका लागि अनुमति पाउनेछन् र यी ६० हजार जना सबै स्थानीय अर्थात साउदी अरबका निवासी मात्रै हुनेछन् । हज एवं उमरा मन्त्रालयका अनुसार यस वर्ष हज १७ देखि २२ जुलाइसम्म हुनेछ । यसमा १८ वर्षदेखि ६५ वर्षसम्मका श्रद्धालुहरु सहभागी हुन पाउनेछन् । हज यात्रीहरुले अनिवार्य खोप लगाइसकेको हुनुपर्नेछ । गत वर्ष साउदी अरबमै बसिरहेका १ हजार जनालाई मात्रै हजको अनुमति दिइएको थियो । सामान्य अवस्थामा हरेक वर्ष लगभग २० लाख मुसलमान विश्वभरबाट हजका लागि मक्का मदिना पुग्ने गर्छन् ।
साउदी सरकारले यसअघि यस वर्ष विश्वभरबाट ६० हजार जनाले हजको लागि यात्रा अनुमति पाउने बताएको थियो । यीमध्ये १५ हजार आफ्नै देशका नागरिक हुने बताइएको थियो । बाँकी ४५ हजार जना अन्य देशका नागरिकलाई पनि अनुमति दिने बताइएको थियो । तर, पछिल्लो समय साउदी सरकारले यो निर्णय परिमार्जन गर्दै कुनै पनि अन्य देशबाट कोही पनि हजका लागि जान नपाउने प्रस्ट पारेको छ । उसले हजका लागि जान पाउने ६० हजार जनाको संख्या भने कायमै राखेको छ र सबै ६० हजार जना आफ्नै देशका मात्रै हुने बताएको छ ।







डिसी नेपाल








Facebook Comment