करोडौं रुपैयाँ र ४० किलो सुनसहित चोर पक्राउ तर धनको मालिक नभेटिँदा प्रहरीलाई तनाव
काठमाडौं। हामीले हाम्रो घरबाट केही धनमाल चोरी भयो भने प्रहरीमा खबर गर्छौं । प्रहरीले हाम्रो धनमाल भेट्टाइदिएर हामीलाई फिर्ता गरोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, करोडौं रुपैयाँ नगद र ४० किलो सुन हराउँदा पनि प्रहरीलाई खबर नगर्ने मानिस कस्तो होला ? अझै प्रहरीले त्यो धन पक्राउ गरिसकेपछि पनि त्यो धन मेरो हो भनेर दावी गर्न किन गएन होला ? यस्ता प्रश्नले अहिले भारतको ग्रेटर नोएडा प्रहरी विभागको टाउको दुखाएको छ ।
भारतको उत्तर प्रदेशको नोएडा सहरको सिल्भर सिटीको एक फ्ल्याटबाट ४० किलो सुन र साढे ६ करोड रुपैयाँ नगद चोरी भएको थियो । चोरी ९ महिनाअघि २०२० को सेप्टेम्बरमा भएको थियो । तर, मालिकले चोरीबारे प्रहरीलाई खबर गरेनन् । नवभारत टाइम्सका अनुसार सेक्टर ३९ थाना पुलिसले शुक्रबार ६ जना चोरहरुलाई पक्राउ गरेको जानकारी सार्वजनिक गरेर यो चोरीको खुलासा गरेको हो । पुलिसका अनुसार यो चोरी सेप्टेम्बरमा नोएडा र गाजियाबादका चोरहरुका २ गिरोहले गरेका थिए ।
पुलिसले पक्राउ गरेका ६ जना आरोपीको साथबाट करिब १३ किलो सुन र ५७ लाख नगद बरामद गरेको छ । पुलिसले ६ जना चोरहरुलाई पक्राउ गरेको जानकारी नोएडा जोनका डिसीपी राजेश एस र एडिसीपी रणविजय सिंहले पत्रकार सम्मेलन गरेर दिएका हुन् । डिसीपीका अनुसार सुराकीको सूचनाका आधारमा पहिले २ चोरहरुलाई पक्राउ गरिएको थियो । राजन भाटी र अरुण नामका यी दुई आरोपीलाई पक्राउ गरेर सोधपुछ गरेपछि अन्य आरोपीबारे जानकारी प्राप्त भएको थियो र उनीहरुलाई पनि पक्राउ गरिएको थियो ।
एडिसीपी रणविजय सिंहका अनुसार यी आरोपीहरुले गाजियाबादका गोपाल यो चोरीको मुख्य योजनाकार भएको बताएका छन् । आरोपीहरुबाटै प्राप्त जानकारीका आधारमा यो घर राममणि पाण्डे र किशलय पाण्डेको भएको थाहा भएको छ । त्यसपछि पुलिसले राममणि र किशलयसँग सम्पर्क गरेको थियो । पुलिसले सम्पर्क गरेपछि राममणि र किशलय दुवैले आफूहरु विदेशमा भएको भनेका छन् । उनीहरुले आफूहरुको फ्ल्याटमा त्यति धेरै धन भएको र त्यो चोरी भएको दुवै कुराबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन् ।
नोएडा पुलिस कमिश्नरेट ने 6 चोरों को गिरफ्तार किया है। जिनके पास से बड़ी धनराशि की बरामदगी हुई है।
अपर मुख्य सचिव, गृह श्री @AwasthiAwanishK ने @noidapolice के कार्य की प्रशंसा की है एवं पूरी पुलिस टीम को 2 लाख रुपये इनाम दिए जाने की घोषणा की है।
— HOME DEPARTMENT UP (@homeupgov) June 12, 2021
पुलिसले चोरीको आरोपमा राजन भाटी, अनिल, बिंटु शर्मा, निरज, जय सिंह र अरुणलाई पक्राउ गरेको छ । पुलिसले अब मुख्य योजनाकार गोपाल सहित अन्य ४ जना आरोपीको खोजी गरिरहेको छ । बाँकी नगद र सुन उनीहरुबाट बरामद हुने अपेक्षा गरिएको छ ।
चोरी गरिसकेपछि पनि कुनै उजुरी वा पुलिस केस नभएपछि यी आरोपीहरु ढुक्क भएका थिए । पुलिसका अनुसार केही दिनअघि सलारपुर निवासी दुई आरोपीहरुबीच केही कुरामा झगढडा भयो । यही झगडाको क्रममा एक आरोपीले रिसको झोंकमा बोल्दा आफूहरुले गरेको चोरीको रहस्य पनि खोले । उनीअरुसँग अचानक आएको पैसा देखेर आसपासका मानिसहरु पहिलेदेखि नै सशंकित थिए । उनीहरुको झगडाको क्रममा एउटाले चोरीको रहस्य खोलेपछि पुलिसका सुराकीले यसको खबर पुलिसलाई दिए । त्यसपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको थियो ।
एडिसीपी रणविजय सिंहका अनुसार अहिलेसम्म पुलिसमा यो चोरीको उजुरी आएको छैन त्यसैले यति नै चोरी भएको थियो भनेर किटानी गर्न सकिने अवस्था छैन । सोधपुछका क्रममा आरोपीहरुले बताएअनुसार चोरीको सामान बाँडफाँड गर्दा १ जनाको भागमा ४ किलो सुन र ६५ लाख रुपैयाँ नगद परेको थियो । यही आधारमा पुलिसले आरोपी १० जना भएकोले कम्तीमा ४० किलो सुन र साढे ६ करोड नगद चोरी भएको अनुमान गरेको हो ।
ठूलो चोरीको खुलासा गरेकोमा उत्तर प्रदेश सरकारको गृह विभागले नोएडा पुलिसको प्रशंशा गरेको छ । गृह विभागका मुख्य सचिव अवनीश अवस्थीले पुलिस टिमलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । यसको जानकारी गृह विभागको तर्फबाट एक ट्वीट गरेर दिइएको छ । नोएडाका कमिश्नर आलोक सिंहले सरकारको तर्फबाट प्राप्त यो प्रोत्साहनप्रति आभार व्यक्त गरेका छन् ।







डिसी नेपाल








Facebook Comment