आइतबार एकाएक भाइरल भएको तस्वीरको वास्तविकता
काठमाडौं। आइतबार समाजिक सञ्जालमा एउटा फोटो भाइरल बन्यो। फोटोमा प्रहरी लाइन बसिरहेको देख्न सकिन्छ। प्रहरीहरु लाइनमा बसेको फोटो आइतबार एकाएक भाइरल भएपछि डिसी नेपालले त्यस विषयमा जानकारी लिने प्रयास गर् याे।
यतिबेला मुलुक कोरोना महामारीसँग जुधिरहेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा संचारकर्मी फ्रन्टलाइनमा खटिइरहेका छन्। फ्रन्टलाइनमा खटिइने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत संक्रमणको उच्च जोखिममा छन्। उक्त विषयलाई मध्यनगर गर्दै राष्ट्रिय आविष्कार केन्द्रले विगत एक वर्षदेखि निशुल्क पीपीई उपलब्ध गराउँदै आएको रहेछ।
आविष्कार केन्द्रलाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने गरेका छन्। सो सहयोगबाट केन्द्रले पीपीई बनाएर कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई निशुल्क पीपीई उपलब्ध गराउँदै आएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए। ‘
केन्द्रले डेढ वर्षदेखि पीपीई बनाएर निशुल्क वितरण गर्दै आएको छ। यहाँबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्वास्थ्यकर्मीले पीपीई लिएर जानुहुन्छ,’ पुनले डिसी नेपालसँग भने, ‘तर हिजो अचानक प्रहरी पीपीई लिन आउनु भएको फोटो भाइरल भएछ। यहाँ बजे भन्ने नियम हुन्न। जतिखेर आए पनि हुन्छ। कति चाहिन्छ, आएर लानुस्।’
पुनका अनुसार अहिलेसम्म केन्द्रले ३८ हजार पीपीई सेट वितरण गरिसकेको छ। त्यो पनि निशुल्क। पुन नेतृत्वको आविष्कार केन्द्रलाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने गरेका छन्। त्यही सहयोगको रकमले केन्द्रले पीपीई, फेस सिल्ड र डेड बढी व्याग बनाएर निशुल्क वितरण गर्दै आएको छ।
आइतबार कीर्तिपुरस्थित आविष्कार केन्द्रमा प्रहरी पीपीई लिन लाइन बसेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। सो फोटोसँगै सरकार र नेपाल प्रहरीको चर्को आलोचना भएको छ। तर केन्द्रका अध्यक्ष महावीर पुन भने फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताउँछन्।
‘अहिले सरकार पनि कोरोना महामारीसँग लडिरहेको छ,’ पुनले भने, ‘यस्तो बेलामा फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई हामी सबैको सहयोगको खाँचो छ। यस्तो बेलामा कसैको आलोचना गर्ने भन्दा पनि सहानुभूतिको आवश्यकता पर्छ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीले साथै नेपाली सेनाले पनि पीपीई लैजाने गरेका छन्। तर तुलनात्मक रुपमा सेनाले कम लगेको छ। पुनका अनुसार कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने जिम्मा पाएका सेनाले मात्रै केन्द्रबाट पीपीई लैजाने गरेका छन्।
पुनका अनुसार एउटा पीपीई बनाउन केन्द्रको करिव हजार रुपैयाँ खर्च हुन्छ, तर त्यस्तै पीपीईलाई बजारमा व्यापारीहरुले २५ सयसम्म लिने गरेका छन्। तर केन्द्रले भने निशुल्क उपलब्ध गराउँदै आएको छ।
सुरक्षाकर्मीमात्रै नभएर स्वास्थ्यकर्मी पनि केन्द्रमा पीपीई लिन आउने गरेका छन्। सरकारी अस्पतालका डाक्टर नर्सका साथै निजी अस्पतालका डाक्टर नर्स पनि पीपीई लिन आविष्कार केन्द्रमा आउने गरेका छन्।
केन्द्रले काठमाडौमा हकमा सुरक्षाकर्मीलाई उनीहरुको परिचयपत्रको आधारमा पीपीई उपलब्ध गराउँदै आएको छ भने स्वास्थकर्मीको हकमा पनि अस्पतालको परिचयपत्रको आधारमा पीपीई उपलब्ध गराउने गरेको छ।
तर उपत्यका बाहिरको हकमा भने सम्बन्धित संस्थाको सिफारिसका आधारमा निशुल्क पीपीई उपलब्ध गराउँदै आएको केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।
प्रहरी लाइनमा बसेको फोटो भाइरल भएपनि सो विषयमा डिसी नेपालले नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरसँग यो विषयमा बुझ्ने प्रयास गरेको थियो। प्रवक्त कुँवरले आविष्कार केन्द्र आसपासका युनिटरुले विगत केही समयदेखि आविष्कार केन्द्रबाट पीपीई लिने गरेको जानकारी प्राप्त भएको बताए।
‘हामीले पनि पीपीई लिन प्रहरी लाइनमा बसेको फोटो भाइरल बनेको थाहा पायौं। तर यो महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीले पीपीई लिनुलाई नकारात्मक रुपमा प्रचार गर्नु भन्दा पनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ प्रवक्ता कुँवरले भने।







डिसी नेपाल








Facebook Comment