प्यालेस्टाइनको अस्तित्व स्वीकार नगर्ने नफ्ताली बेनेट इजरायली प्रधानमन्त्री बनेपछि पर्ने प्रभाव

डिसी नेपाल
१ असार २०७८ १०:४१
1.0k
Shares

काठमाडौं। इजरायलमा बेन्जामिन नेतन्याहुको १२ वर्ष लामो शासनकाल अन्त्य हुँदै ८ पार्टीको गठबन्धन सरकार बनेको छ र नफ्ताली बेनेट प्रधानमन्त्री बनेका छन् । आइतबार राती नफ्ताली बेनेटले प्रधानमन्त्रीको शपथ लिए । बेनेटलाई कट्टरपन्थी यहुदीको रुपमा चिनिन्छ । यसका अलावा उनी ठूला प्रविधि कम्पनीका मालिक पनि हुन् ।

नफ्ताली बेनेट २ वर्षसम्म इजरायली सेनाको प्रमुख अर्थात चिफ अफ स्टाफ पनि रहिसकेका छन् । यसलाई संयोग मान्न सकिन्छ वा अरु नै केही पनि मान्न सकिन्छ तर ध्यान दिनुपर्ने कुरा के हो भने उनले जुन प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट हटाएर आफू प्रधानमन्त्री बने ती नेतन्याहुलाई बेनेटका राजनीतिक गुरु मानिन्छ । नेतन्याहुले मात्रै एक सांसदको कमीका कारण कुर्सी गुमाएका छन् ।

बेनेट धेरैजसो समय यहुदी टोपी (टिप्पा) लगाउँछन् । उनी मध्यपूर्वमा प्यालेस्टाइनको अस्तित्व थियो भन्ने कुरा नै स्वीकार गर्दैनन् । उनी यो क्षेत्रमा केवल इजरायल मात्रै छ भन्छन् तर आइतबार संसदमा बहुमत प्रमाणित गर्ने क्रममा भने उनको बोली फेरिएको देखियो । उनको बोली अचानक फेरिनुको कारण राम पार्टीलाई मानिएको छ ।

गठबन्धन सरकारलाई राम पार्टीले सहयोग गरिरहेको छ । यो अरब मुस्लिमको पार्टी हो । यसका नेता मसुर अब्बास हुन् । इजरायलको सरकारमा मुस्लिम पार्टी सहभागी भएको यो पहिलो पटक हो । यसका अलावा बेनेटको गठबन्धन सरकारमा बामपन्थी र मध्य विचारधाराका दल पनि सहभागी भएका छन् । बेनेटले अब अरब इजरायली मुस्लिमको विकास र शिक्षाको सुधारको कुरा गरिरहेका छन् ।

बेनेटले प्यालेस्टाइनको स्वतन्त्रता र प्यालेस्टाइनलाई छुट्टै देश बनाउने कुराको सयौं पटक खुला रुपमा विरोध गरेका छन् । वेस्ट ब्यांक र पूर्वी जेरुसेलममा यहुदी बस्ती विस्तारमा उनले जोड दिँदै आएका छन् । विश्वले यो विचारलाई इजरायली जिद्दी र शान्तिको लागि खतरा मान्छ । बाराम ओबामाले अमेरिकी राष्ट्रपति रहेका बेला बेन्जामिन नेतन्याहुसँग यहुदी बस्ती विस्तारको काम रोक्न भनेका थिए । त्यतिबेला बेनेटले ओबामाको कुराको विरोध गरेका थिए ।

२०१३ मा सांसद बन्नुभन्दा पहिले नफ्ताली बेनेट वेस्ट ब्यांक सेटलर्स काउन्सिलका प्रमुख थिए । यो काउन्सिलले वेस्ट ब्यांकमा यहुदीहरुलाई स्थापित गराउने काम गर्छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटका प्रमुख तथा बेनेटका नजिकका मित्र योहान प्लेसनर भन्छन् ‘यसमा कुनै दुईमत छैन कि बेनेट कट्टर दक्षिणपन्थी र सुरक्षा मामिलामा निकै कडा सोच भएका नेता हुन् तर धेरै व्यवहारिक पनि छन् ।’

४९ वर्षका बेनेट ४ सन्तानका पिता हुन् । उनी एक समय नेतन्याहुका निकै नजिकका सहयोगी थिए । तर, पछि यी दुईबीच दूरी बढ्दै गयो । मध्यपूर्वका विषयमा नेतन्याहुको नीतिसँग उनी सहमत छैनन् । नेतन्याहुले नै उनलाई इजरायली सेनाको चिफ अफ स्टाफ बनाएका थिए । नेतन्याहुकी पत्नी साराले राजनीतिमा दखल दिन थालेपछि बेनेट नेतन्याहुबाट टाढा हुँदै गएको बताइन्छ । गएको मार्चमा एक टेलिभिजन बहसमा बेनेटले भनेका थिए ‘म मध्यमार्गी पार्टीका नेता येर लेपिडलाई कहिल्यै प्रधानमन्त्री बन्न दिन्न ।’

सबैभन्दा रोचक कुरा त के भने बेनेटले यो कुरा भनेको ३ महिनापछि नै बेनेट उनै येर लेपिडको समर्थनमा प्रधानमन्त्री बनेका छन् र उनीहरुको सम्झौताअनुसार सेप्टेम्बर २०२३ मा बेनेटले प्रधानमन्त्री पद छोडेर उनै येर लेपिडलाई प्रधानमन्त्री बनाउनेछन् । यससँगै नेतन्याहुका समर्थकले बेनेटलाई धोकेबाट र मतदातासँग गरेको बाचा उल्लंघन गरेको आरोप लगाइरहेका छन् । बेनेटले भने आफूले जे गरे त्यो देशको एकता र देशलाई फेरि चुनाबमा जानबाट बचाउनको लागि गरेको बताएका छन् ।

बेनेट इजरायलको सुरक्षित र सुन्दर शहर तेल अभिभमा बस्छन् । सधैं किप्पा लगाउँछन् । उनका आलोचक सोध्छन् कि उनी यहुदी बस्तीमा किन बस्दैनन् जुन बस्ती इजरायलले वेस्ट ब्यांक र पूर्वी जेरुसेलममा बनाएको छ र जुन बस्तीको बेनेट सधैं समर्थन गर्छन् । बेनेटका मातापिताको जन्म अमेरिकामा भएको थियो । बेनेटको जन्म भने इजरायलकै हाइफा सहरमा भएको थियो । बेनेट पहिले सेना रहे, कानुनका विद्यार्थी बने त्यसपछि निजी व्यवसायिक षेत्रमा आए । उनको बारेमा कुरा गर्नेहरुले उनलाई आधुनिक, धार्मिक र राष्ट्रवादी भन्छन् ।

बेनेट इजरायलको सैन्य कमाण्डो युनिट सेरेतमा पनि रहे । १९९९ मा उनले एन्टी फ्रड सफ्टवेयर कम्पनी क्योटाको स्थापना गरे । २००५ मा यो कम्पनी १४५ मिलियन अमेरिकी डलरमा अमेरिकाको आरएसए सेक्युरिटी फर्मलाई बेचिदिए । बेनेटका अनुसार २००६ मा इजरायल र लेबनानको अतिवादी संगठन हिजबुल्लाहबीच युद्ध हुँदा उनले राजनीतिमा आउने निर्णय गरेका थिए । यो युद्धको कुनै नतिजा निस्किएन तर इजरायली सेना र सरकारलाई देशमा आलोचनाको सामना गर्नुपर्यो ।

इजरायली अखबार हेराल्जका स्तम्भकार एन्सेल फिफर भन्छन् ‘बेनेट राष्ट्रवाद छन् तर जिद्दी होइनन् । धार्मिक छन् तर कट्टर छैनन् । सैनिक हुन् तर बिलासी जीवन बिताउँछन् । प्रविधि व्यवसायी हुन् र आफ्ना कम्पनीहरुबाट लाखौं डलर कमाउँछन् । उनको राजनैतिक यात्रा अब धेरै लामो नहुन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.