२ दिनअघि मरेका विश्वकै ठूलो परिवारका मुखिया जिउँदै भएको भन्दै अन्तिम संस्कार रोकियो
काठमाडौं। चिकित्सकहरुले आइतबार दिउँसो मृत्यु भएको घोषणा गरेका विश्वकै ठूलो परिवारका मुखिया जिओना चानाको अन्तिम संस्कार रोकिएको छ । डाक्टरहरुले मृत घोषित गरे पनि उनको परिवारका सदस्यहरुले उनी जीवितै भएको दावी गर्दै अन्तिम संस्कार रोकेका छन् । टाइम्स अफ इण्डियाका अनुसार उनको परिवारका सदस्यहरुले उनको नाडी चलेको दावी गरेका छन् । हाइपरटेन्सन र मधुमेहका रोगी जियोनालाई आइतबार भारतको मिजोरम राज्यको एजवायल सहरको ट्रिनिटी अस्पतालमा मृत घोषित गरिएको थियो ।
जिओनाका पत्नीहरुको बाहुल्यता रहेको चर्च छुआन थार कोहरान र अन्य २० चर्चका प्रमुखहरुले जिओना जीवितै रहेको दावी गरेका छन् । चर्चका सचिव जेतिन खुमाका अनुसार उनलाई अस्पतालबाट घर ल्याइएपछि उनीहरुले जिओनाको मुटुको धड्कन महसुस गर्न सकिरहेका छन् । जिओनाको शरीर अहिले पनि चिसो नभएको भन्दै उनले यस्तो अवस्थामा उनको अन्तिम संस्कार गर्न नसकिने बताए । जिओनाका पत्नीहरु, छोराछोरीहरु, नातिनातिनीहरु र छुआन थार समुदायले अहिले उनको अन्तिम संस्कार गर्नु उचित नहुने ठहर गरेको उनले बताए ।
जेतिन खुमाले जिओनाको शरीर तातो रहँदासम्म र उनको नाडी महसुस हुँदासम्म उनको अन्तिम संस्कार नगरिने बताए । छुआन थार समुदायका मानिसहरुले अन्तिम संस्कार रोक्नको लागि त्यहाँ आएर अन्तिम संस्कार गर्न खोज्नेहरुलाई रोक्नको लागि बन्दूक नै लिएर बसेको रिपोर्टमा जनाइएको छ । जिओना यस क्षेत्रमा पर्यटकको आकर्षणका केन्द्र बनेका थिए । जिओनाको निधनको खबरपछि मिजोरमका मुख्यमन्त्री जोरमथांगाले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका थिए ।







डिसी नेपाल








Facebook Comment