१४ महिनासम्म अस्पताल बसेका कोरोना बिरामी ‘अब यसरी बाँचिरहन सक्दिन’ भनेर मरे

डिसी नेपाल
५ असार २०७८ १३:४५
2.9k
Shares

काठमाडौं। बेलायतका सबैभन्दा लामो अवधिका कोरोना बिरामीको मृत्यु भएको छ । साढे १४ महिनाको अवधि अस्पतालमा बिताएका उनले ‘अब यसरी बाँचिरहन सक्दिन’ भनेर मृत्युवरण गरेका हुन् । ४९ वर्षका जेसन केल्कलाई गएको वर्ष २०२१ को मार्च ३१ का दिन लिड्सको सेन्ट जेम्स अस्पतालमा भर्ना गरिएको थियो । उनी अहिलेसम्म पनि अस्पतालमै थिए । शुक्रबार बिहान उनलाई नजिकैको हस्पाइसमा सारिएको थियो जहाँ उनले आफ्नो अन्तिम समय परिवारका साथमा बिताएका थिए ।

उनकी पत्नी ६३ वर्षकी सुइ केल्कका अनुसार जेसनको संघर्ष धेरै लामो भइसकेको थियो र उनले अब सबै उपचारहरु बन्द गर्ने निर्णयमा पुगेका थिए । द सनको रिपोर्टअनुसार २० वर्षसम्म विवाहित जीवनका सहयात्रीलाई विदाइ गर्दै सुइले भनिन् ‘यो निकै शान्तिपूर्ण थियो । उनको नजरले हेर्दा यो सब गर्नु उनको लागि निकै महत्वपूर्ण थियो । उनले धेरै मानिसहरुलाई पूर्णरुपमा व्यथित अवस्थामा छोडेका छन् । मानिसहरुले उनी साहसी बन्न सकेनन् चन्लान् तर भगवान, उनी साहसी बनेका थिए । मलाइ साँच्चै लाग्छ उनी साहसी थिए । म अब यसरी बाँचिरहन सक्दिन भन्नु मलाई सबैभन्दा साहसको कुरा जस्तो लाग्छ ।’

जेसनलाई टाइप टु मधुमेह र दम पनि थियो । मार्च ३१ मा अस्पताल भर्ना गरिएका जेसनलाई केही दिनमै अप्रिल ३ मा आइसीयूमा सारिएको थियो । उनी अहिलेसम्म आइसीयूमै रहे । भाइरसले उनका फोक्सोहरु क्षतिग्रस्त पारेको थियो र मृगौलाहरु नष्ट गरेको थियो । यस वर्षको मार्चमा उनी १५ दिनसम्म भेन्टिलेटरको सहायतामा रहन सकेपछि उनी बाँच्छन् कि भन्ने आशा पलाएको थियो । उनको चौबीसै घण्टा चल्ने मृगौला फिल्टर निकालिएको थियो र उनी हप्तामा एकपटक परिवारसँग अस्पतालको मैदानमा घुम्न निस्किन्थे । उनी आफैं चिया पिउन र केक खान सक्ने भएका थिए ।

तर, मे महिनाको सुरुवातपछि उनको स्वास्थ्य बिग्रिन थाल्यो । तीन हप्ताअघि उनलाई पूर्ण रुपमा भेन्टिलेटरमा निर्भर रहनुपर्ने भयो । सुइका अनुसार यो त्यो समय थियो जतिबेला जेसनले आफ्नो बाँच्ने आशा त्यागेका थिए । सुइले भनिन् ‘उनी यो सबै छिटै सकियोस् भन्ने चाहन्थे । एन्टिबायोटिक्सले काम गरेका थिए तर उनको आत्माले हार मानिसकेको थियो ।’ सुइका अनुसार शुक्रबार बिहान मृत्युवरण गर्ने बेला जेसनसँग उनी, जेसनका मातापिता र बहिनी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.