व्यावसायिक कृषि कर्ममा लाग्न पूर्वमन्त्री अर्यालको आग्रह

डिसी नेपाल
७ असार २०७८ २१:१४

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)की नेत्री पद्माकुमारी अर्यालले कृषकलाई व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गरेकी छन् । बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको आज उद्घाटन गर्दै पूर्वकृषि तथा पशुपन्छीमन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठूलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताइन् ।

ग्रामीण कृषि सहकारी संस्था भीरकोट– २ को आयोजना र भूमिमन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा समूहमा आबद्ध २५ कृषकको सहभागिता रहेको सहकारी संस्थाका प्रबन्धक सरस्वती अधिकारीले जानकारी दिइन् ।

यसैबीच जिल्ला सदरमुकाममा जयजनता बहूउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीनदिने व्यावसायिक तरकारी खेती तालीम शुरु भएको छ । जिल्ला सहकारी संघ स्याङ्जाका पहलमा भूमि मन्त्रालयको आर्थिक सहयोगमा सहकारीमार्फत उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत कालीगण्डकी गाउँपालिकामार्फत तालीम सञ्चालन गरिएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी दिइन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *