अमेरिकी राष्ट्रपतिलाई निराश पार्ने किम यो जोंगको बयान
काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनकी बहिनी किम यो जोंगले अमेरिकासँग कुटनैतिक वार्ता सुचारु हुन सक्ने सम्भावनामाथि पूर्णविराम लगाइदिएकी छिन् । मंगलबार उनले भनिन् ‘अमेरिकाले गरिरहेको वार्ताको अपेक्षाले उसलाई नै गम्भीर निराशामा पार्नेछ ।’ केही दिनअघि उत्तर कोरियाली शासक किम जोंग उनले उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैको लागि, त्यसमा पनि बढी संघर्षको लागि तयार हुनुपर्ने बताएका थिए ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले किम जोंग उनको यो कुरालाई ‘रोचक संकेत’ भएको टिप्पणी गरेका थिए । समाचार एजेन्सी एपीले कोरियाली समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै जनाएअनुसार सुलिभानको यही टिप्पणीको जवाफमा यो जोंगले एक वक्तव्य जारी गर्दै भनेकी छिन् ‘एउटा कोरियन उखान छ – सपनाको सबैभन्दा महत्वपूर्ण कुरा त्यो देख्नु हो, त्यो पाउनु हैन । यस्तो लाग्छ अमेरिकाले परिस्थितिलाई आफ्नो लागि अनुकूल अवस्थामा देख्ने प्रयास गरिरहेको छ ।’ ‘ती अपेक्षाहरु जुन उनीहरुले गलत तरिकाले राख्न खोजे, त्यसले उनीहरुलाई ठूलो निराशामा पार्नेछ’ यो जोंगले भनेकी छिन् ।
उनको यो बयान त्यतिबेला आएको छ जतिबेला अमेरिकाका उत्तर कोरियाली मामिला सम्बन्धी शीर्ष राजदूत सुंग किम दक्षिण कोरिया भ्रमणमा छन् । मंगलबार बिहान दक्षिण कोरियाली एकीकरण मन्त्री ली इन योंगसँगको बैठकमा सुंग किमले वाशिङटन र सियोल कोरियाली प्रायद्विपलाई कूटनीतिमार्फत आणविक निशस्त्रीकरण गर्न संयुक्त रुपमा प्रतिबद्ध रहेको बताएका थिए ।’ सुंग किमले उत्तर कोरिया छिटै वार्तामा आउने अपेक्षाा पनि व्यक्त गरेका थिए ।
यो जोंगको यो बयानले नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निराश पार्न सक्छ । यसअघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ पटक वार्ता गर्दा पनि किम जोंग उनलाई आणविक निशस्त्रीकरणका लागि मनाउन सकेका थिएनन् । यस्तोमा अहिलेका राष्ट्रपति बाइडेनले उत्तरु कोरिया समस्या वार्तामार्फत समाधान गर्ने अपेक्षा गरिएको थियो । तर, उत्तर कोरियाले आणविक हतियारको अनुसन्धान र उत्पादन झनै बढाइरहेको रिपोर्ट बाहिरिएको छ ।
उत्तर कोरिया मामिलामा केन्द्रित अखबार डेलीएनकेका अनुसार उत्तर कोरियाले अहिले सैन्य उपकरणको अनुसन्धान र उत्पादन बढाएको छ । रिपोर्टका अनुसार अर्को वर्ष उत्तर कोरियाका संस्थापक तथा किमका हजुरबुवा किम इल सुंगको जन्मदिनको अवसर पारेर उत्तर कोरियाले देशको इतिहासकै सबेभन्दा ठूलो सैन्य परेड गर्ने तयारी गरिरहेको छ ।किम इल सुंगको जन्मदिन अप्रिल १५ मा पर्छ । सुंगको ११० औं जन्मदिनको यो कार्यक्रमका लागि तयारी सुरु भइसकेको डेलीएनकेले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment