म्यानमारमा सेनाको जुन्ता सरकारविरुद्ध सशस्त्र युद्ध सुरु, विद्रोहीले लामो युद्धको घोषणा गरे

डिसी नेपाल
८ असार २०७८ १५:३२

काठमाडौं। म्यानमार दोस्रो ठूलो सहर मेन्डलेमा मंगलबार सशस्त्र गाडीमा रहेका सुरक्षा बलमाथि विद्रोहीहरुले आक्रमण गरेका छन् । आक्रमणका कम्तीमा २ जनाको मृत्यु भएको मिडिया रिपोर्ट र विद्रोही समूहका सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो विद्रोही समूह भर्खरै गठन भएको बताइएको छ ।

गएको फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएर निर्वाचित आङ साङ सुकीको सरकारलाई अपदस्थ गरेपछि सुरक्षा फैजविरुद्ध देशैभरी प्रदर्शन भइरहेका छन् । सेनाले शक्ति हातमा लिएको विरुद्ध देशैभरी विद्रोही समूहहरु उदाउन थालेका छन् जसले आफूलाई जनसुरक्षा बल भन्छन् । अहिलेसम्म हल्का हतियारसहितका विद्रोहीसँग सेनाको दुर्गम गाउँहरुमा झडप भएको थियो । तर, अहिले भने मेन्डलेको नयाँ जन सुरक्षा बल दावी गर्ने समूहले भने सेनाले छापा मारेपछि आफ्नो समूहका सदस्यले जवाफ दिएको बताएको छ ।

‘युद्ध सुरु भएको छ र अझै धेरै युद्धहरु हुनेछन्’ सशस्त्र समुहका एक सदस्यले आफ्नो पहिचान क्याप्टेन तुन तौक नाइङ बताउँदै टेलिफोनमा रोयटर्ससँग भने । सहरमा मंगलबार भएको भिडन्तको एक स्थानीयले लिएको भिडियोमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ । मेन्डलेमा ३ सशस्त्र कारमा आएका करिब २० जना सैनिकले छापा मारेको बेला विद्रोही समूहले आक्रमण गरेको म्यानमार नावले जनाएको छ ।

सशस्त्र समूहका अर्का अधिकारीले मिजिमा न्यूज पोर्टललाई बताएअनुसार विद्रोही समूहका ६ सदस्य गिरफ्तार भएका छन् र २ सैनिक मारिएका छन् । रोयटर्सले यस विषयमा सोध्दा जुन्ताका प्रवक्ताले जवाफ दिएनन् । म्यानमारको सेनाको नियन्त्रणमा रहेको म्यावादी टेलिभिजनले एक रिपोर्टमा सेनाले एक घरमा छापा मार्दा ‘सशस्त्र आतंकवादी’हरुले साना हतियार र बमले आक्रमण गरेको भनेको छ । उसले ‘आतंकवादीहरु’ मारिएको र ८ जना पक्राउ परेको तथा केही सैनिक गम्भीर घाइते भएको भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *