कोरोना संक्रमित अमेरिकीहरुलाई ग्वान्तानामो पठाउन चाहन्थे ट्रम्प, यो कस्तो ठाउँ हो ?

डिसी नेपाल
९ असार २०७८ १२:०८
792
Shares

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस महामारीको संक्रमण सुरु भएपछि सुरुवाती दिनमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमित अमेरिकीहरुलाई ग्वान्तानामो बे पठाउने कुराको वकालत गरेका थिए । एक नयाँ किताबमा यो दावी गरिएको छ । वाशिङटन पोस्टका २ रिपोर्टरहरु यास्मिन आबुतालेब र डेमियन पालेट्टाले लेखेको यो किताबको नाम – ‘नाइटमेयर सिनारियोः इनसाइड द ट्रम्प एडमिनिस्ट्रेसन्स रेस्पोन्स टु द प्यान्डेमिक द्याट चेन्ज्ड हिस्ट्री’ हो ।

यो किताबका केही अंश सोमबार जारी गरिएका छन् । यसमा गरिएको दावीअनुसार २०२० को फेब्रुअरीमा ह्वाइट हाउसको सिचुएसन रुममा एक बैठक भएको थियो । यो बैठकमा ट्रम्पले आफ्ना सहयोगीहरुसँग भनेका थिए ‘के हामीसँग यस्तो कुनै टापु छैन जो हाम्रो नियन्त्रणमा होस् ? ग्वान्तानामो बेका बारेमा के भन्नु छ ?’ द गार्डियनका अनुसार ट्रम्पले कथित रुपमा यो पनि भनेका थिए ‘हामी सामानहरु आयात गर्छौं तर हामी भाइरस आयात गर्न गइरहेका छैनौं ।’

किताबका लेखकहरुका अनुसार ट्रम्पले फेरि पनि यो प्रस्ताव गरेपछि सहयोगीहरुले त्यसलाई त्यहीँ रोकेका थिए । ग्वान्तानामो बे क्युबाको कुख्यात हिरासत क्याम्प हो । अमेरिकाले यसको प्रयोग गम्भीर अपराधी र अभियुक्तहरुलाई राख्नको लागि गर्छ । ट्रम्पले यसो भन्दा अमेरिकामा भाइरसका कारण स्थिति खराब भइसकेको थिएन ।

ट्रम्प प्रशासनले महामारी ठिकसँग सामना गर्न नसकेको भन्दै लगातार आलोचना हुने गर्छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ६ लाखभन्दा धेरैको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । यीमध्ये ४ लाख मृत्यु ट्रम्पको कार्यकालमा भएका थिए ।

यो किताबमा ट्रम्पका पूर्व बरिष्ठ सल्लाहकारहरु र बरिष्ठ स्वास्थ्य अधिकारीहरुसँगको साक्षात्कारबाट प्राप्त जानकारीलाई आधार बनाइएको छ । यी साक्षात्कारका विषय महामारीका विषयमा ट्रम्प प्रशासनले गरेका कामहरुको परिपरि राखिएको छ ।

किताबमा गरिएको दावीअनुसार ट्रम्पले गत वर्ष १८ मार्चमा स्वास्थ्य तथा मानवीय सेवाका तत्कालीन मन्त्री एलेक्स अजारसँग भनेका थिए ‘टेस्टिङले मलाई मारिरहेको छ । म टेस्टिङका कारण चुनाब हार्न गइरहेको छु । के मुर्खता हो कि संघीय सरकारले टेस्टिङ गराउनुपर्छ ?’ त्यसको ५ दिन पहिले मात्र ट्रम्पका ज्वाइ जारेड कुशनरले टेस्टिङ रणनीतिको जिम्मेवारी लिएका थिए ।

ट्रम्पले त्यतिबेला स्वास्थ्य तथा मानवीय सेवा विभागका आकसिमक तयारीका प्रमुख रोबर्ट क्याडलेक र विदेश विभागका एक बरिष्ठ अधिकारीलाई विदा गर्ने मन पनि बनाएका थिए । ट्रम्प कोरोना संक्रमित १४ जना अमेरिकी नागरिकलाई क्रुज जहाजबाट अमेरिका फिर्ता ल्याउने विषयमा यी अधिकारीको भूमिकाबाट असन्तुष्ट थिए ।

किताबका अनुसार ट्रम्पले नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजजका तत्कालीन निर्देशक डा. एन्थोनी फाउसीलाई हटाएनन् तर ट्रम्पको टिमले डा. फाउसी र अन्य बरिष्ठ स्वास्थ्य अधिकारीहरुको सिफरिसलाई बेवास्ता गरे । बरु आर्थिक विशेषज्ञ र जारेड कुशनरका कुरालाई महत्व दिइयो । ट्रम्प र डा. फाउसीबीच मतभेदको प्रमुख मुद्दा ट्रम्पले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनामा प्रयोग गर्न जोड दिनु थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.