चिनियाँ कम्युनिस्ट पार्टीका रोचक तथ्यः पुरानो चीन ताइवान बन्यो, चीनमा राष्ट्रपति हुँदैनन्
काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको आज १०० वर्ष पूरा भएको छ । यस अवसरमा चीनमा आज विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा पार्टीका महासचिव तथा देशका राष्ट्रपति शी जिनपिङले सम्बोधन गरेका छन् । कार्यक्रममा चिनियाँ सेनाले शक्ति प्रदर्शन समेत गरेको छ ।
पार्टीको १०० औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति शी जिनपिङले बेइजिङलाई दबाउन खोज्ने विदेशी शक्तिहरुलाई चेतावनी दिए । तियानमेन स्क्वायरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले चीनको उदयको पछाडि एकमात्र शक्ति चिनियाँ कम्युनिस्ट पार्टी भएको बताउँदै यसको बाटोमा आउनेहरुलाई चेतावनी दिएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी घरेलु र विदेशी दबाबसँग लड्दै आएको योद्धा भएको बताउँदै जिनपिङले चीन विश्वको धनी र उन्नत शक्ति बन्नको लागि पार्टीको निरन्तर शासन आवश्यक रहेको बताए । ‘चिनियाँ नागरिकहरुले कहिल्यै अरु देशका जनतालाई धम्की, दबाब वा दासत्वका राख्न चाहेनन् । विगतमा यस्तो गरेनन् र भविष्यमा पनि यस्तो गर्ने छैनन्’ जिनपिङले भने ‘अर्कोतर्फ चिनियाँ जनताले कहिल्यै पनि विदेशी शक्तिले आफुहरुलाई धम्की दिन, दबाब दिन वा दास बनाउन दिने छैनन् । जसले पनि यस्तो गर्ने कोसिस गर्नेछ उसको हात १.४ अर्ब चिनियाँ जनताको रगत र मासुबाट बनेको ग्रेट वालमा ठोक्किएर भाँचिनेछ ।’
जिनपिङले पार्टीका क्रान्तिकारी संस्थापकहरुलाई श्रद्धाञ्जली पनि दिए तर उनको मुख्य प्राथमिकता महान चिनियाँ राष्ट्रको निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकामा केन्द्रित थियो । उनले चीन विगतमा शान्तिको लागि बनेको शक्ति भएको बताउँदै ताइवानसँग शान्तिपूर्ण एकीकरण चाहेको बताए । ताइवानलाई स्वतन्त्र बनाउने विदेशी ‘स्कीम’हरुप्रति लक्षित गर्दै उनले भने ‘कसैले पनि चिनियाँ नागरिकको राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने दृढ अठोटलाई कम नठानुन् ।’
१९२१ मा स्थापना भएर आजसम्म आइपुग्दा चीनको कम्युनिस्ट पार्टीले धेरै उतार चढाव झेलेको छ । खासमा चीनको यो कम्युनिस्ट पार्टीको विचारधारा तत्कालीन सोभियत संघबाट आएको हो । १९१७ मा सोभियत संघका लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको थियो । यो सफलतासँगै लेनिनको कम्युनिस्ट विचारधारा पूरै चीनमा फैलियो । चीनका विचारकहरुलाई देशलाई एकीकृत गर्नको लागि मार्क्सवाद नै सबैभन्दा उत्तम विकल्प भएको विश्वास भएपछि चीनमा कम्युनिस्ट पार्टी स्थापनाको जग बनेको थियो ।
१९१९ मा चीनमा साम्राज्यवाद र सामन्तवादविरुद्ध आन्दोलन सुरु भयो । यस क्रममा त्यहाँ मजदुर वर्ग विशाल शक्तिको रुपमा देखिए । पूरै चीनमा मजदुर आन्दोलनलाई व्यवस्थित ढंगले चलाउने र मार्क्सवादलाई फैलाउनको लागि माओत्से तुंगले चीनको चेन डक्सिउ ओक ली डजाओसँग मिलेर १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना गरे । सुरुमा यो पार्टी नभइ एक संगठन थियो जसको स्थापनापछि चीनमा श्रमिक आन्दोलन थप प्रभावकारी ढंगले चल्न थाल्यो । पछि यही संगठन चिनियाँ कम्युनिस्ट पार्टीको रुपमा परिचित भयो ।
जुलाइ २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो कांग्रेसको आयोजना समेत गरियो । यसैलाई आधिकारिक रुपमा पार्टीको स्थापना दिवस मानिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा १९३४ को लङ मार्चको पनि महत्वपूर्ण स्थान छ । यो १६ अक्टोबर १९३४ देखि २० अक्टोबर १९३५ सम्म चलेको थियो । यसमा चांग काइ शेकको नेतृत्वको राष्ट्रवादी कुमिंगतांग पार्टीको सेनाले कम्युनिस्टको लाल सेनालाई ९ हजार किलोमिटर पछाडि धकेलेका थिए ।
वास्तवमा यो एक मार्च नभइ कैयौं मार्चको एक श्रृंखला थियो । यीमध्ये अक्टोबर १९३४ मा जिआंग्शी प्रान्तबाट सुरु भएको मार्च सबैभन्दा प्रसिद्ध छ । यी मार्च माओत्से तुंग र चाउ एनलाइको नेतृत्वमा गरिएका थिए । यी मार्चमा लाल सेना पश्चिमी चीनको दुर्गम क्षेत्रबाट हुँदै पश्लिे पश्चिमतर्फ र त्यसपछि उत्तरतर्फ शान्शी प्रान्त पुगेका थिए । यो यात्रा निकै खतरनाक थियो । यात्रा सुरु हुँदा कम्युनिस्ट सेनामा १ लाख साम्यवादी सैनिक थिए तर अन्त्यसम्म पुग्दा केवल २० प्रतिशत मात्र जीवित बाँकी थिए ।
१९३७ मा चीनमाथि जापानले आक्रमण गरेपछि कम्युनिस्ट र राष्ट्रवादी सेना आपसमा मिले । तर, जापानले हारेपछि चीनका यी दुई सेनाबीच गृहयुद्ध सुरु भयो । यस क्रममा राष्ट्रवादी सेनामाथि कम्युनिस्ट सेना हावी हुँदै गयो र १९४९ मा पूरै चीनमा माओत्से तुंगको शासन भयो । यो हारपछि चांग काइ शेकको सरकार मुख्य भूमिलाई छोडेर एक टापुमा शरण लिन पुग्यो । यही टापुलाई आज ताइवान भनिन्छ । ताइवानले आफूलाई जनगणतन्त्र ताइवान पनि भन्छ ।
१९४९ मा कम्युनिस्टले चीनमा नियन्त्रण गरेपछि तत्कालीन चीन सरकार जसलाई रिपब्लिक अफ चाइना भनिन्थ्यो त्यो ताइवानमा सीमित भएको थियो । उता चीनको विशाल भूभाग जसलाई मेनल्याण्ड चाइना भनिन्छ त्यो ठाउँलाई कम्युनिस्ट सरकारले पिपुल्स रिपब्लिक अफ चाइना भन्न थाल्यो । त्यसपछिका वर्षमा ताइवानले आफूलाई रिपब्लिक अफ चाइना भन्ने र मेनल्याण्डले आफूलाई पिपुल्स रिपब्लिक अफ चाइना भन्ने गरे । १९७१ मा संयुक्त राष्ट्रसंघले रिपब्लिक अफ चाइनालाई हटाएर पिपुल्स रिपब्लिक अफ चाइनालाई मान्यता दियो । ताइवानले अझैसम्म संयुक्त राष्ट्रसंघको मान्यता पाएको छैन र चीनले ताइवानलाई आफ्नो क्षेत्र भन्छ ।
माओत्से तुंगले १९६६ मा चीनमा राजनीतिक आन्दोलनको रुपमा साँस्कृतिक क्रान्ति सुरु गरे । १६ मे १९६६ मा सुरु भएको यो क्रान्ति १० वर्षसम्म चल्यो र यसले चीनको संरचनामा कैयौं ठूला परिवर्तन गर्यो । माओ र उनका समर्थकहरुले पुराना रितिरिवाज, तौरतरिका, संस्कृति र पुरानो सोचलाई अन्त्य गर्न सुरु गरे । यो क्रान्तिले चीनको सामाजिक संरचनालाई निकै नोक्सानी गर्यो । यस क्रममा रेड गार्डले यति अत्याचार गरे कि २ वर्षमा कैयौं लाख मानिस मारिए ।
६८ वर्षमा शि जिनपिङ विगत ९ वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति बनेका छन् । खासमा उनी चीनका राष्ट्रपति नै होइनन् तर अंग्रेजीमा भन्दा उनलाई प्रेसिडेन्ट भन्ने चलनका कारण उनलाई राष्ट्रपति मानिएको हो । शि जिनपिङसँग चीनका धेरै महत्वपूर्ण पदहरु छन् । यीमध्येको प्रमुख पद स्टेट चेयरम्यान अर्थात गुओजिया झुक्सी भएका कारण उनी देशका प्रमुख शासक भएका हुन् ।
उनी चेयरम्यान अफ द सेन्ट्रल मिलिट्री कमिशन पनि हुन् । यो पद भनेको चीनका सबै किसिमका सेनाको प्रमुख हो । यसबाहेक उनी चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हुन् । यो पद सत्तारुढ कम्युनिस्ट पार्टीको प्रमुख पद हो । १९५४ को चिनियाँ संविधानका अनुसार अंग्रेजीमा चीनको प्रमुख शासकलाई केवल चेयरम्यान भन्न सकिन्छ । यसको अर्थ सत्ताको सबैभन्दा धेरै अधिकार जिनपिङसँग छ र उनी चीनका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।
जिनपिङलाई राष्ट्रपति भन्ने कि नभन्ने विषय निकै रोचक छ । २०२० मा अमेरिकामा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सांसद स्कट पेरीले संसदमा एक बिल पेश गरेका थिए । यसमा जिनपिङलाई राष्ट्रपतिको सट्टा तानाशाह भन्नुपर्ने प्रस्ताव गरिएको थियो । पेरीले यो बिललाई ‘नेम द एनिमी एक्ट’ नाम दिएका थिए । उनले अमेरिकाका सरकारी दस्तावेजमा चिनियाँ शासकलाई राष्ट्रपति नभनियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । २०२१ मा सीएनएनले पनि एक रिपोर्टमा शी जिनपिंगलाई ‘चेयरम्यान अफ एभ्रिथिंग’ लेखेको थियो ।
खासमा जिनपिङलाई राष्ट्रपति भन्ने विषयमा भ्रम छ । चीनमा जति पनि पदमा जिनपिङ छन् त्यो कुनै पनि पदलाई अंग्रेजीमा प्रेसिडेन्ट भनिँदैन । चिनियाँ भाषामा पनि राष्ट्रपति जस्तो अर्थ लाग्ने कुनै शब्द प्रयोग भएको छैन । १९८० मा जब चीनको अर्थतन्त्र खुल्यो त्यसपछि चीनका शासकलाई अंग्रेजीमा प्रेसिडेन्ट भन्न थालियो । जबकि प्राविधिक रुपमा यस्तो होइन । जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख हुन् त्यसैले देशका प्रमुख शासक हुन् । उनी राष्ट्रपति होइनन् ।
२०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख भएका जिनपिङ पार्टी प्रमुख भएसँगै देशका प्रमुख शासक बनेका हुन् । उनलाई माओत्से तुंग र देंग शियाओपिंगपछि तेस्रो ठूलो नेता मानिन्छ । आलोचकहरुले भने जिनपिङ आफ्नो क्षमताले भन्दा पनि खानदानी पहुँचले यो पदमा पुगेको भन्छन् । जिनपिङका पिता माओत्से तु)ग र देंग शियाओपिंगको कार्यकालमा पार्टीको निकै माथिल्लो पदमा थिए । चीनलाई आर्थिक महाशक्ति बनाउने नीतिहरु उनका पिताले नै बनाएका थिए । यही कारण जिनपिङका पितालाई चीनको आर्थिक कार्यक्रमका वास्तुकार भनिन्छ ।







डिसी नेपाल







Facebook Comment