काँग्रेसमा समायोजन विवादः संस्थापन पक्षले पार्टी कब्जा खोजेको भन्दै पौडेल पक्ष सशंकित
काठमाडौं। काँग्रेसका विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेका नेताहरुले ठूलो संख्यामा आफू निकटहरुलाई पार्टींको क्रियाशील सदस्यता दिलाउन थालेएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सशंकित बनेको छ। विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका नेताहरुले ठूलो संख्यामा सोझै क्रियाशील सदस्यता फार्म भरेका छन्। काँग्रेसको विधान अनुसार वडाबाट क्रियाशील सदस्यता फार्म भरेर आउनुपर्ने भए पनि पार्टी प्रवेश गरेकाहरुले भने केन्द्रबाट सोझै फार्म लगेर क्रियाशील सदस्यताको फार्म भरेपछि पौडेल पक्ष सशंकित भएको हो।
विभिन्न पार्टी पत्यिाग गरि काँग्रेस प्रवेश गरेकाहरुलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति छ। सो समितिमार्फत संस्थापन पक्षले पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षी नेताहरुले बताएका छन्। विहीबार पौडेल पक्षीय नेताहरुको भेला अनुप फुडल्याण्डमा भएको थियो। सो भेलामा सहभागी एक नेताका अनुसार संस्थापन पक्षले पार्टी कब्जा गर्न खोजेको भन्दै शीर्ष नेताहरुले चिन्ता प्रकट गरेका थिए।
भेलामा समायोजन समितिका सदस्य तथा क्रियाशील छानबिन समितिका पौडेल पक्षीय नेताहरु पनि सहभागी थिए। भेलामा समायोजन समितिका सदस्यसमेत रहेका नेता दिलेन्द्र बडुले समितिमा भइरहेको कामबारे जानकारी गराएका थिए।
त्यसपछि वरिष्ठ नेता पौडेलले पार्टी कब्जा गर्न खोज्नेहरुविरुद्ध लाग्न निर्देशन दिएका छन्। पौडेललगायत नेताहरुले काँग्रेस भित्र काँग्रेस नै अल्पमत पर्ने अवस्था सिर्जना हुन लागेको भन्दै समायोजन समितिमा रहेकाहरुलाई कडा रुपमा प्रस्तुत हुन भनेका छन्।
यस्तै भेलामा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङ पनि सहभागी थिए। उनीहरुसँग पनि शीर्ष नेताहरुले छानबिनको कामबारे जानकारी लिएका छन्।
भेलामा पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी थिए।
उता क्रियाशील छानबनि समितिले ५१ जिल्लाको छानबिन सकेको छ। बाँकी २६ जिल्लाको छानबिन पनि यो असार मशान्तसम्म सकिने समितिले जनाएको छ।
पदाधिकारी बैठकले बनाएको मापदण्डका आधारमा छानबिन समितिले विवादहरु निरुपण गर्दै आएको छ। यदि विवाद निरुपण हुन नसके शीर्ष नेताहरुलाई जिम्मा लगाउने समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। केही गरि पनि विवाद समाधान नभएर सानो संख्यामा क्रियाशील सदस्यताहरु स्थगित पनि हुन सक्ने उनले जनाए।
काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ। सभापति शेरबहादुर देउवाले फेरि सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै भेटघाट र छलफललाई तिब्रता दिइसकेका छन्। पौडेल पक्षीय नेताहरु पनि आपसमा छलफल गरिरहेका छन्। क्रियाशील सदस्यता पार्टींका प्रारम्भिक मतदाता भएकाले क्रियाशील सदस्यतामा सबै नेताहरुको ध्यान केन्द्रित हुने गर्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment