महेशको ‘मनको किरण’ बजारमा
काठमाडौं। साहित्य सुधा नेपालले आयोजना गरेको विशेष कार्यक्रममा कवि तथा लेखक महेशराज खरेलको पहिलो कवितासंग्रह ‘मनको किरण’ विमोचित गरिएको छ ।
शुक्रबार भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यकारहरूले खरेलको कवितासंग्रहको विमोचन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन मन्तव्य दिँदै महेशराज खरेलको कवितासंग्रहका विषयमा बोल्दै कविलाई शुभकामना दिए।
कुलपति उप्रेतीले भने, “लामो समय वित्तीय क्षेत्रमा कार्यरत महेशराज खरेलले जीवनमा स्थायी रहने चिज साहित्य नै भएको अनुभूत गर्दै साहित्यलाई अंगाल्नु भएको छ । यस क्षेत्रमा उहाँले आफ्नो क्षमता र परिपक्वताको पूर्ण प्रयोग गर्नुहुनेछ ।”
कार्यक्रमका अर्का अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कवि महेश खरेलमा दह्रिलो काव्य चेत भएको बताए । त्यस्तै कवि डा. गीता त्रिपाठीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै खरेलका कवितामा चिन्तन पक्ष, जीवन दर्शन पक्ष बलियो भएको बताइन्।
प्राज्ञ प्राडा हेमनाथ पौडेलले पनि समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकार कलानिधि दाहालले महेशराज तीव्र काव्य चेतनाको भएको बताए। अर्का प्राज्ञ डा. देवी नेपालले कवि महेश खरेल जिम्मेवारी बोधकासाथ साहित्यिक जगतमा प्रवेश गरेको बताएका थिए।
साहित्य सुधा नेपालका अध्यक्ष कल्पना काफ्लेको सभापतित्वमा आयोजना गरिएको विमोचन कार्यक्रममा प्रकाशक नमुना प्रकाशनका कोशिला रिसालका साथै गणेश घिमिरे, स्रष्टा महेशराज खरेल, इन्दिरा दाहालले आफ्नो विचार राखेका थिए। कार्यक्रममो रमेश पोखरेल र कृष्णदेव रिमालले विमोचित कृतिबाट कविता वाचन गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment