मिल्लान् तीन कोइराला ?
तस्वीर : शशांकको सचिवालय
काठमाडाै। नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो।
कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ।
एक दर्जन नेताले महाधिवेशनमा नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका बेला सभापतिका तीन आकांक्षी शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला लन्च मिटिङमा जुटेका छन्।
कोइराला परिवारका तीनै सदस्यले नेतृत्वमा आ–आफ्ना दाबीलाई प्रस्तुत गर्दै आएका छन्। बिपी, केशव र गिरिजाप्रसाद कोइरालाका सन्तान शशांक, शेखर र सुजाताले दाबी मात्र होइन, तयारी पनि थालिसकेका छन्। पार्टी महामन्त्रीसमेत रहेका शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै सभापति देउवालाई हराउन सक्ने आफू मात्र भएको जिकिर गर्दै आएका छन्।
दुई वर्षभन्दा बढी समयदेखि पार्टी सभापतिका लागि आफूले तयारी थालेको भन्दै शेखरले १४ औं महाधिवेशनमा आफू कुनै हालतमा उम्मेदवार बन्ने बताउँदै आएका छन्।
तर, नेत्री सुजाताले कोइराला परिवारका दुई सदस्य मात्र होइन, संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार नभए आफू पनि मैदानमा खडा हुने बताउँदै आएकी छन्। संस्थापन इतरका नेताहरूलाई एक ठाउँमा ल्याउन केही दिनअघि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवासमा खानाका लागि बोलाएकी थिइन्। संस्थापन इतरका नेतालाई होइन, १४ औं महाधिवेशन कोइराला परिवारका तीन आकांक्षीहरूबीच नै सहमति हुन्छ त ? नागरिक दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment