धुलिखेलले नागरिकलाई भूमिसहितको अधिकार दिने

डिसी नेपाल
१२ साउन २०७८ ६:३७

काठमाडौं । धुलिखेल नगरपालिकाले नागरिकलाई भूमिसहितको अधिकार दिने भएको छ। नगरप्रमुख अशोक कुमार ब्याञ्जुका अनुसार भूमिहीन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबास ब्यवस्थापनका लागि भूमि सम्वन्धी समस्या समाधान आयोगसँगको सहकार्यमा नागरिकहरुलाई भूमिसहितको अधिकार भएको नगरपालिका घोषणा गर्ने तयारीमा पुगेको हो।

नगरपालिकाले यस अघि नै सुकुम्बासीहरुको लगत संकलन गरिसकेको नगरप्रमुख ब्याञ्जुले जानकारी दिए। ‘प्रत्येक वडाहरुबाट संकलन भई आएका सुकुम्बासीहरुलाई नगरपालिका आफैले जग्गा ब्यवस्थापन गरी घर निर्माणका लागि सहजिकरण गर्न शुरु गरिसकेको छ,’ नगरप्रमुख ब्याञ्जुले भने।

‘ नगर भित्रका सबै नागरिकहरुलाई भूमिसहितको अधिकार स्थापित गर्दै स्थायी बसोबासको ब्यवस्थापनका लागि कार्य गर्नेछ।’ ब्याञ्जुले भने ‘धुलिखेल छिट्टै भूमिसहितको अधिकार भएका नागरिकहरुको शहरका रुपमा चिनाइने छ।’

धुलिखेल नगरपालिकाकी उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिका भित्र रहेका हरेक नागरिकहरुलाई बसोबासको ब्यवस्थापन मिलाउने गरी वडा स्तरबाट संकलन भएका विवरणहरुको कार्यान्वयन शुरु गरिने बताएकी छिन्। प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले धुलिखेल नगरपालिका भित्र रहेका १ सय २९ सुकुम्बासीहरुका साथै अन्य अब्यवस्थित बसोबासीहरुको ब्यवस्थापनका लागि सूचिसंकलनको कार्य शुरु भएको जानकारी दिए।

यसअघि नै विभिन्न उदाहरणीय काम नगरपालिकाले गरेको छ। बालमैत्रि नगरपालिका, पार्कै पार्कको नगरपालिका, शिक्षा, स्वास्थ्य लगायतका विषयमा धुलिखेल नगरपालिका अग्रस्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *