एमालेकाे नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित, अर्काे मितिका लागि छलफल हुँदै

डिसी नेपाल
२० साउन २०७८ ९:२५
636
Shares

काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बुधबार विहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

‘केन्द्रीय कमिटीका कामरेडहरु उपत्यका बाहिर हुनु भएकाले आजलाई स्थगित गरिएको हो,’ नेपाल निकट सांसद मेटमणि चौधरीले डिसीनेपालसँग भने, ‘अहिले भोलिसम्मका लागि स्थगित गरिएको छ। तर, भोली पनि बस्ने नबस्ने कुरामा छलफल भइरहेको छ।’

स्थायी कमिटीमा पार्टी विवादबारे पटकपटक छलफल चलाएका नेता नेपालले स्पष्ट सुझाव पाउन नसकेपछि आफू निकट केन्द्रीय कमिटी सदस्यहरुलाई छलफलमा बोलाएका हुन्। केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गरेर अघि बढ्ने सोच नेपालले बनाएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्ने विषयमा नेपाल समूहमा पनि मत विभाजन हुने गरेका छन्। पार्टी एकताका लागि बनाइएको कार्यदलका नेताहरु नै अर्को पार्टी खोल्ने वा एमालेमै सहमति गर्ने भन्ने विषयमा एकिकृत हुन सकेका छैनन्।

सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाललाई पर्खिएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन्।

एमालेमा रहेर सरकारमा जान नमिल्ने भएपछि अर्को पार्टी खोलेर भए पनि सरकारमा जाने र ओलीसँग नझुक्ने केही नेताहरुको अडानका कारण नेपाल समस्यामा परेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीलाई विस्वासको मत नदिएका तर, शेरबहादुर देउवालाई विस्वासको मत दिएका नेताहरु ओलीसँग नझुक्ने अडानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.