धुलिखेलमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

डिसी नेपाल
२८ साउन २०७८ १८:२९
388
Shares

बनेपा । काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ ।

विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम शुरु गर्ने भएको हो ।

विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी रुपमा सो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले ती विषयको कक्षा सञ्चालन गर्न लागेको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागका डिन प्रा डा मनिष पोखरेलले बताए । “नेपालमा नै पहिलोपटक काठमाडौँ विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेका हौँ”, उनले भने, “हाल भर्ना सिटको कूल सङ्ख्या स्नातक तहमा ३० र स्नातकोत्तर तहमा १० छ, पढाइ आवासीय सुविधासहितको हुनेछ ।” इन्टर्नसीपको माध्यमबाट विद्यार्थीलाई परियोजनामा आधारित सिकाइमा व्यावहारिक ज्ञानको अनुभव प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालले सञ्चालन गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्रविधि र विधिको प्रयोग गरी कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थामा डाटामा आधारित निर्णय कार्यान्वयन गर्न सक्ने र कोर्षसँग सम्बन्धित विद्यार्थीले विभिन्न डाटा विश्षेलण गर्न सक्नुका साथै स्वचालित मेशिन प्रविधि निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने प्रा डा पोखरेलले बताए । जुन कार्यक्रम प्राविधिक, आधारभूत प्रोग्रामिङ, कम्प्युटर विज्ञान, गणितको परिचयात्मक पाठ्याक्रमबाट शुरु हुनेछ । सो विषय अध्ययन गरेका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स अवधारणाको प्रविधियुक्त ज्ञान सिक्न सक्ने प्रा डा पोखरेलले बताए ।

दुवै तहमा अध्ययनको लागि चार वर्षे शैक्षिक कार्यक्रमको लागि विद्यार्थीले कूल शुल्क रु आठ लाख तिर्नुपर्ने छ । त्यस्तै मास्टर्स अफ टेक्नोलोजि इन आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न क्षत्रेहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इञ्जिनियरिङ्गसँग सम्बन्धीत व्यवहारिक जीवनका समस्याहरुसँग जुध्न का लागि आफुले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु पाउँनेछन् । त्यसको लागि दुई वर्षे शैक्षिक कार्यक्रममा थप शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *