सुनसरीमा कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका वरिष्ठ सई यादवको मृत्यु, पत्नी घाइते
सुनसरी। नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको एक सवारी दुर्घटनामा परी निधन भएको छ।
बर्जू गाउँपालिका-६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजे प्रदेश १-०२-००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १-०१-००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको भए पनि उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव समेत घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ र हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी मृतक यादव हालै मात्र सई पदबाट वरिष्ठ सईमा बढुवा भएका थिए। उनी जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भई त्यहाँ हाजिर हुन जाने क्रममा यो दुर्घटनाको सिकार हुन पुगेका हुन्।
दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका-३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाएका थिए। डा. चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्ष समेत हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको समयमा कार तीव्र गतिमा रहेको थियो। दुर्घटना लगत्तै मोटरसाइकलमा आगलागी समेत भएको र स्थानीयवासीको सहयोगमा उक्त आगो तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment