काठमाडौँ महानगरमा पहिलो पटक ‘उपमेयर कप खो-खो’ प्रतियोगिता हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिकामा पहिलो पटक सामुदायिक विद्यालय स्तरीय ‘प्रथम उपमेयर कप खो-खो प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल खो-खो संघको आयोजनामा हुन लागेको यो प्रतियोगिताले विद्यालय स्तरमा खो-खो खेलको विकास र विस्तारमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको औपचारिक जानकारी दिइएको हो।
प्रतियोगिता असार १० गतेदेखि १३ गतेसम्म कीर्तिपुरस्थित खो-खो हलमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। महिलातर्फ १० वटा र पुरुषतर्फ ८ वटा गरी कुल १८ वटा समूहले प्रतिस्पर्धा गर्नेछन्।
प्रति टिम १२ जनाका दरले कुल २१६ खेलाडी तथा ३६ जना प्रशिक्षक र टिम व्यवस्थापक गरी २५२ जनाको यस प्रतियोगितामा प्रत्यक्ष सहभागिता रहनेछ। प्रतियोगिता लिग कम नक आउटका आधारमा सञ्चालन हुनेछ भने खेलको निर्णयका लागि ३० सदस्यीय निर्णायक मण्डल खटाइएको छ।
प्रतियोगिताको कुल लागत ३६ लाख रुपैयाँ रहेको छ, जसमध्ये काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ प्रदान गर्नेछ भने बाँकी ६ लाख रुपैयाँ नेपाल खो-खो संघले व्यहोर्नेछ। महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले शिक्षा र खेलकुदलाई सँगसँगै लैजाने महानगरको नीति अनुरूप यो प्रतियोगिता आयोजना गरिएको बताए।
त्यसैगरी, नेपाल खो-खो संघका अध्यक्ष दीपक महर्जनले यो प्रतियोगिताले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। संघका महासचिव शंकर महर्जनले दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीले प्राप्त गर्दै आएको सफलताका कारण खो-खो खेलको लोकप्रियता दिनानुदिन बढ्दै गएको चर्चा गरे।
प्रतियोगितामा शान्ति निकुञ्ज मा.वि., महांकाल मा.वि., भीमसेनगोला मा.वि., पद्मकन्या मा.वि., जनप्रभात मा.वि., सहिद शुक्र मा.वि., विश्व निकेतन मा.वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा.वि. र कन्या मन्दिर माध्यमिक विद्यालयका टोलीहरूले सहभागिता जनाउनेछन्।







डिसी नेपाल







Facebook Comment