हैटीको भूकम्पबारे त्यहाँ कार्यरत नेपालीको बर्णन, एक नेपाली घाइते अरू सकुशल (तस्वीरहरु सहित)

चूडामणि भट्टराई
३१ साउन २०७८ २:३७

वासिंगटन डिसी। क्यारेवियन मुलक हैटीमा अगष्ट १४ तारिक शनिवार विहान गएको ७ दशमलव २ रेक्टर स्केलको विनासकारी भूकम्पमा परी एकजना नेपाली घाइते भएका छन्। उनको खुट्टा भाँच्चिएको छ तर खतरामुक्त छन्। उनी उपचारपछि आफ्नो निवासस्थान फर्किइसकेका छन्।

अमेरिकासँग जलमार्गबाट सीमा जाेडिएकाे तर गरीब र राजनीतिक एवं प्राकृतिक प्रकाेपसमेतले पीडित बनेकाे हैटीमा  भूकम्पकाे केन्द्रविन्दू निम भन्ने स्थानमा थियाे। केन्द्रविन्दू रहेको निम भन्ने ठाउंमा सडक निर्माण कार्यमा संलग्न धारन स्थायी घर भएका सुविन राई घाइते भएको र उनको अवस्था सामान्य रहेको हैटी सरकारको सल्लाहकार पदमा कार्यरत नेपाली शान्ति पौडेलले डिसी नेपाललाई बताए।

पौडेलका अनुसार, भूकम्पको केन्द्रविन्दू रहेको निम भन्ने ठाउंमा जम्मा २ जना नेपालीहरु बसोबास गर्छन् । ती मध्येका एक राईमात्र घाइते भएका हुन्। उनी पनि भूकम्प आएको थाहा पाएपछि भाग्ने क्रममा घाइते भएका थिए।

हैटीको राजधानी पोर्ट औ प्रिन्समा शान्ति एयरलाइन्ससमेत सञ्चालन गरेर बसेका हवाइजहाज र हेलिकोप्टरसमेत चलाउने पाइलट एवं सरकारका सल्लाहकार पौडेलले दिएको जानकारीअनुसार, हैटीमा जम्माजम्मी एकसय जतिको संख्यामा नेपालीहरु कार्यरत रहेकोमा अरु सबै सकुशल छन्।

“अहिलेसम्म अन्यथा विवरण आएको छैन”, उनले डिसी नेपालसंग भने, “भूकम्पले ध्वस्त भएका दुई शहरहरु लेवाइज र जेरेमीमा जम्मा ९ जना नेपालीहरु कार्यरत रहेकोमा सबै नै सकुशल भएको खवर पाएको छु ।”

उनका अनुसार, निम भन्ने ठाउंको समुद्रको मुनि भूकम्पको केन्द्रविन्दू भएको पत्ता लागेकोले सुनामीको डर यथावत छ । सरकारले समुद्रमा चल्ने सम्पूर्ण यातायातका साधनहरु रोकेको छ, बोट एम्बुलेन्सहरु पनि रोकिएका छन् ।

हैटीका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भूकम्पबाट प्रभावित स्थानहरुमा हेलिकोप्टर चलाएर आफैंले निरीक्षणमा लगी फर्किएको जानकारी दिंदै पौडेलले हालसम्म ३ सय व्यक्तिहरुको मृत्यु भएको रेकर्ड आइसकेको र ७ हजारभन्दा बढी व्यक्तिहरु घाइते भएको विवरण प्राप्त भएको बताए।

प्रभावित क्षेत्रका कतिपय ठाउँमा मौसम खरावीका कारण हेलिकप्टरसमेत पुग्न नसकेको उनले जानकारी दिए। “ग्राण्डसन्स भन्ने ठाउंमा हेलिकप्टर ल्याण्ड गर्नसमेत सकिएन, यस्तै अरु केही टापुमा पनि पुग्न सकिएको छैन, त्यसैले त्यहाँको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन”, उनले भने, प्रभावित क्षेत्रहरुमा बाटोहरु भत्किएका छन्, पुलहरु भत्किएका छन्, त्यसैले सडकबाट पुग्न सक्ने अवस्था छैन, मौसम खराब भएर आज जहाजबाट पनि कतिपय ठाउँहरुमा पुग्न सकिएन।’

हैटीको राजधानी पोर्ट औ प्रिन्समा भने हालसम्म ठूलो क्षति भएको विवरण प्राप्त नभएको उनले बताए । सन् २०१० को भूकम्पमा भने राजधानीमै बढी क्षति भएको थियो हजारौं मानिसहरु मरेका थिए ।


तस्वीरहरु सबै शान्ति पौडेल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *