डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य
फाइल फाेटाे
गलेश्वर । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन्। एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का अहिले नासिन थालेका छन्।
गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इञ्जीनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौँ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएको बताइएको छ। जीवन्त यस्ता सम्पदाको संरक्षणका लागि सम्बन्धीत पक्षले वास्ता नगरेको स्थानीयवासीको भनाइ छ। विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभावी खनिएका मोटरबाटोका कारण बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ।
यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले बल्ल आ–आफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको जानकारी लिन सुरु गरेका छन्।
गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको वा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताए। उनले भने, “विकासको नामबाट विनास भएको छ त्यसले दीर्घकालसम्म क्षति पु¥याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन, आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ।”
तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयवासीले बताएका छन्। ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती , डम्मरा र गौडालाउने चौतारी तथा लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौंँ सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए।
त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ। मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन्। ध्रुवसागर शर्मा/रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment