कांग्रेस महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै

डिसी नेपाल
१३ भदौ २०७८ १३:२१
268
Shares

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ।

कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ। तर सबैभन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रीत देखिन्छ। पहिलोपटक कांग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुनलागेको छ। कांग्रेसमा हालसम्म प्रदेशस्तरीय समिति बनेको छैन। तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ।

देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना बनिसकेको छैन। कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ।

प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारीमा छन्।

प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरु उम्मेदवारीको तयारीमा रहे पनि जिल्लामा भने युवा नेताहरु सभापतिका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ। धनुषामा आधा दर्जन युवा नेताहरु सभापतिको दौडमा छन्। युवा नेता राजकिशोर सिंह, सन्तोष यादवलगायतले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।

जिल्ला अधिवेशनमा पनि प्रदेश सभापतिका उम्मेदवारहरु खुल्ने स्थिति नरहेको काँग्रेसका युवा नेता सुनिल यादवले बताए। प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रीय सभापतिका उम्मेदवारलाई थप चुनौती बढेको छ । खासगरी केन्द्रीय सभापतिका उम्मेदवार तथा उपसभापित विमलेन्द्र निधिका लागि गलपासो हुने भएको छ । प्रदेश सभापतिका आकांक्षीहरु निधिनिकटका नेताहरु रहेकोले उनलाई खुल्न समस्या देखिएको छ।

राष्ट्रिय महाधिवेशनअगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने कृष्णा यादव, महेन्द्र कुमार राय, रामसरोज यादव र दिनेश यादवले सभापतिमा निधिलाई समर्थन गर्ने चर्चा छ।

नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् । कांग्रेस नेताहरुका अनुसार त्यो अस्वाभाविक पनि होइन। तर प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन ।

कुनै एउटा पक्षमा लाग्दा उनको विरोधी पक्ष बलियो हुने सम्भावना छ। प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुनसक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्द्वीको भूमिका रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.