श्रीकृष्णको पूजामा कालो रङ बर्जित

डिसी नेपाल
१४ भदौ २०७८ ९:२०
144
Shares

काठमाडाैं। हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन्। परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी। हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन्।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका मानिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णले व्यक्त गरेका विचार र दर्शनलाई ‘श्रीमद्भगवद् गीता’का रूपमा लिइन्छ । यो हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने र ‘भगवान्’का रूपमा पुजिँदै आएका श्रीकृष्णको जन्म हिन्दु पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । यसर्थ उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिँदै आएको छ।

कृष्ण जन्माष्टमीलाई अनेक नामले बुझिन्छ । कसैले सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती पनि भन्ने गरेका छन्। कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन–कीर्तन गरिन्छ । हिन्दु महिलाहरू दिनभर ब्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ।

किन र कसरी गरिन्छ श्रीकृष्णको पूजा ?

यस दिन श्रीकृष्णको पूजा आराधाना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीको मान्यता छ । भनिन्छ- जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।

श्रीकृष्ण जन्माष्टमी मनाउने विभिन्न तरिका छन् । प्रायः बालक कृष्णको मूर्ति बनाएर उक्त मूर्तिको पूजा गर्ने चलन रहेको छ । उसो त प्रेम र दाम्पत्य सुखका लागि राधा-कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गरिएको छ । यस दिन शंख वा शालिग्रामको पूजा पनि गरिन्छ ।

श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुहाइ गरेर ब्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पंचामृतले स्नान गराइदिन्छन् ।

अन्त्यमा प्रतिमालाई जलले स्नान गराएर पीताम्बर, फूल र प्रसाद चढाउँछन् । याद रहोस् कि श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *