नेपालबाट विश्व ॐकार एकता महाअभियान शुरू गर्न प्रार्थना सभा

डिसी नेपाल
१४ भदौ २०७८ २२:२३
44
Shares

काठमाडौं । नेपालका धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई संगठित गर्दै शुरु भएको विश्व ॐकार एकता महाअभियानले सोमबार दक्षिणकाली नगरपालिका १ मा प्रार्थना सभा आयोजना गरेको छ ।

मुख्य अभियानकर्मी डा चिन्तामणि योगीले प्रार्थना सभालाई सम्बोध गर्दै संस्कार र संस्कृति जोगाउन महाअभियान शुरु गर्नुपरेको बताउनुभयो । पूर्वस्वास्थ्य राज्यमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले धर्म र संस्कृति, राजनीतिभन्दा पनि ठूलो भएकाले आफू संस्थागतरुपमा यो अभियानमा सहभागी भएको बताए ।

नेपालका नेताहरु एक पछि अर्को गर्दै धर्मप्रति आकर्षित भएको देखाउन प्रतिस्पर्धा गरिरहेको बखत यो अभियानले नेपालमा चर्चा पाएको छ ।
पूर्व गृह राज्यमन्त्री एवं नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन हिन्दूराष्ट्र बनाउन जनतामा चेतना जगाउनुपर्ने बताए । बाँस्कोटाले जनतामा चेतना जागृत गराउन फाउन्डेसनले विश्व शान्ति र राष्ट्र शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक एवं हवन गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, नेपाली काँग्रेसका नेता आनन्द सन्तोषी राईलगायतले आध्यात्मविनाको जीवन सार्थक नहुने भएकाले महाअभियानले नागरिकलाई आध्यात्मसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउन ४ र ५ गते देवघाटमा सन्तबाट आशीर्वाद लिएर शुरु भएको महाअभियान पशुपतिनाथ, शिखको गुरुद्वारा, जैनभवनजस्ता धार्मिक संस्थामा प्रार्थनासभा गरिसकेको छ ।

महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको पाइन्छ । समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले महाअभियान शुरु गरिएकोे आयोजकले बताए ।

महाअभियानले यस पछि गुम्बा, चैत्य, विहारजस्ता धार्मिक स्थलहरुमा समेत सभा गरी ॐकार परिवारलाई एकताको सूत्रमा गाँस्ने सोच बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.