तनहुँमा चार महिनापछि विद्यालय खुले, भाैतिक उपस्थितिमै पठनपाठन
तनहुँ । गत बैशाखबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन्। सहरका विद्यालयमा अनलाइन कक्षा चले पनि गाउँका विद्यार्थी पढाइबाट वञ्चित बनेकामा चार महिनापछि बल्ल विद्यालयमा पढाइ सुरु भएकाे हाे।
तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन्। यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसाेमा मंगलबारदेखि कक्षा सञ्चालन भएका हुन्।
स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए। ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ । मास्क अनिवार्य गरिएको छ । सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छाैँ,’ उनले भने।
एउटा बेन्चमा दुई विद्यार्थी राख्ने गरिएकाे छ । कक्षामा २५ भन्दा बढी विद्यार्थी राखिएको छैन । १-५ का विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्म र ६-१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको उनले बताए।
शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईँले बताए । विद्यालय नखुलेका स्थानीय तहमा पनि अनुमति मागिएकाे छ।
स्थानीय तहाके निर्णय अनुसार विद्यालयमा पठनपाठन सुरु भए पनि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment