शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यकः महानिरीक्षक खनाल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् ।
संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई “सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स” विषयमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नु हुदैं उनले सो कुरा बताएका हुन् । महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउँदै शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।
शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् । यसरी तालिम प्राप्त र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउँदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए ।
कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिदै उनले संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताए ।
महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्नुहुँदै मिसन इलाकामा प्रभावकारी इन्टेलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुन सक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।
उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महानिरीक्षक खनाल सहित जम्मा ६ जना उद्घाटन सत्रको प्रमुख वक्ताको रुपमा रहेका थिए ।







डिसी नेपाल








Facebook Comment