प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि

डिसी नेपाल
२६ भदौ २०७८ ११:५२
260
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरेका हुन्। राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए।

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेरराणालगायत उनको निवासमा पुगेका थिए। राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए। गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए। स्व राणाका एक श्रीमती र एक छोरी छन्।

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए। उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए। राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत भएका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए। नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए। कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.