३ करोड माग: नदिए ‘बम’ राखेर धम्की, प्रहरीलाई खबर गरे घर पनि उडाइदिने चेतावनी !

डिसी नेपाल
२७ भदौ २०७८ १६:३८
1.8k
Shares

काठमाडौँ । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धादिङको त्रिपुरासन्दरी गाउँपालिका ५ घर भई हाल काठमाडौं फुटुङ बस्नेत २५ वर्षीय आशिष कुँवर र उनका सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर छन्। कुँवरद्वय सहोदर दाजुभाइ हुन्। उनीहरु होटलमा काम गर्दै आएका थिए। रोल्पाको परिवर्तन गाउँपालिका १ का ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई पनि पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले आशिष केही समयअघि आँखाको उपचार गर्न त्यस अस्पतालमा पुगेको र त्यसबीचमा उनले त्यहाँ काम गर्ने एक चिकित्सकको पृष्ठभूमीबारे बुझेपछि बम राखेर पैसा उठाउने योजना बनाएको दावी गरे। प्रहरीले अस्पतालको तेस्रो तलामा शौचालयभित्र बम राख्दै गर्दाको सिसिटिभी फुटेजका आधारमा अभियुक्तको पहिचान गरेको छ।

राजधानीको एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका आषिशले बेल्जियम जाने तयारी गरिरहेका थिए। त्यसैका लागि पैसा उठाउन नक्कली बम राखेर पैसा उठाउने योजना बनाएको प्रहरीले दावी गरेको छ। ‘प्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट कन्ट्रोल छ, ४ वटा बम तपाईंको घरमा पनि हुनसक्छ वा अन्यत्र पनि हुन सक्छ, अस्पताल र तपाईंको घर परिवारसमेतलाई अत्यन्त खतरा छ, हामीले भनेको नमानी आलटाल गरेमा बम पड्काइ अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारिदिन्छौँ’ भनि ती चिकित्सकलाई फोन गरेर धम्की दिइएको पनि दावी गरिएको छ।

प्रहरीका अनुसार ती चिकित्सकसँग ३ करोड रुपैयाँ मागिएको थियो। अभियुक्तले प्रहरीलाई खबर गरे बम पड्काइदिने धम्कीसहितको म्यासेज पनि गरेका थिए। अभियुक्तहरुले यूट्युब हेरेर टाइम बमजस्तो शंकास्पद बस्तु बनाउन सिकेको बयान दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.