दुवै कमरेडहरुले मै हुँ भनेपछि…

डिसी नेपाल
२९ भदौ २०७८ १८:३९

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जमा आ-आफ्नै दाबी गरेका छन्।

नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको बताएका छन् भने नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्।

सुदुरपश्चिम प्रदेशको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएर नेता भट्ट नै इन्चार्ज भएको बताएपछि विवाद सुरु भएको हो। प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताउँदै इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताए । त्यस्तै धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’

उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *