गम्भीर अपराधमा महिला संलग्नता बढ्दो, दैलेखमा शिक्षकलाई घाँटी रेटी मारेको आरोपमा युवती पक्राउ

डिसी नेपाल
३१ भदौ २०७८ ११:४८

काठमाडौं । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । दैलेखको मालिका माविका सामाजिक विषयका शिक्षक नगेन्द्र कुमार विसीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा मंगलबार बिहान सोही विद्यालयको बरण्डामा शव फेला परेको थियो ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानालाई पक्राउ गरेको छ । मुनाले व्यक्तिगत रिसइबीका कारण घाँटी रेटेर शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । अहिले उनीलाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट म्याद लिएर हिरासतमा राखिएको छ ।

दैलेखको यो घटना मात्रै होइन पछिल्लो केही महिलाहरु क्रुर अपराध कर्ममा संलग्न हुन थालेका छन् । गत वर्ष साउनमा एउटा यस्तै क्रुर हत्या भयो । त्यो पनि महिलाले नै गरेकी थिइन । काठमाडौंको गोगबुमा २०७७ साउन २५ गते कृष्णबहादुर बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाकी अभियुक्त कल्पना मुडभरी पौडेललाई अदालतले दोषी ठहर गरी कारागार पठाएको छ । उनी हाल केन्द्रीय कारागारमा छिन् ।

३ फागुन २०६९ मा ललितपुरको इमाडोलमा प्रकाश श्रेष्ठको हत्या भयो । सो हत्याकाण्डकी मुख्य अभियुक्त थिइन–प्रकाशकै पत्नी अस्मिता लामा श्रेष्ठ । प्रहरीका अनुसार प्रकाशले रक्सी खाएर परपुरुषसँग लागेको भन्दै दिनहुँजसो अस्मितालाई कुटपिट गर्न थालेपछि उनले आफ्नै पतिको हत्या गरेकी थिइन् । अस्मिताले सुतिरहेको अवस्थामा प्रकाशको घाँटी सलले बेरेर थिची हत्या गरेकी थिइन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकले अपराधमा महिलाको संलग्नताको ग्राफ उकालो चढिरहेको देखाउँछ । जघन्य र गम्भीर प्रकृतिका अपराध तथा महिलासँग सम्बन्धित, लागूऔषधजस्ता अन्य अपराधको ग्राफ बढ्दै गएको छ । प्रहरी मुख्यालयको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा गम्भीर प्रकृतिका अपराधमा कर्तव्य ज्यान २५.५८, ज्यान मार्ने उद्योग २०.९४, जबरजस्ती करणी १८.१९ प्रतिशतले बढेको छ ।

यसैगरी जबरजस्ती करणी उद्योग ६.९९ र लागू औषध ४.४४ प्रतिशतले बढेको छ । महिला तथा बालबालिकासँग सम्बन्धित अन्य अपराधको अवस्था पनि बढ्दो क्रममै रहेको प्रहरी मुख्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो आवको तुलनामा महिलासँग सम्बन्धित अपराधमा बाल यौन दुराचार २०.२५, घरेलु हिंसा २१.२४ र बोक्सी आरोपको घटना ७९.४१ प्रतिशतले बढेको छ ।

महानगरीय अपराध महाशाखाले गत ४ साउनमा तीन जना महिलासहित चार जनालाई पक्राउ गर्यो । जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने तीन महिलासहित चार जनालाई राजधानीबाट पक्राउ गरिएको थियो । यसैगरी मकवानपुर प्रहरीले २३ किलोग्राम गाँजासहित ६ महिना अगाडि अटो चालकसहित २ महिलालाई पक्राउ ग¥यो । चेकजाँचको क्रममा मकवानपुर ११ बाट प्रहरीले अटो चालकसहित मकवानपुरकै निर्मला तामाङ र माया तामाङलाई नियन्त्रणमा लिएको थियो ।

पर्साको जिराभवानीपुर गाउँपालिका ४ बस्ने ५० वर्षीया मीना देवीलाई १२ किलोग्राम गाँजासहित जीतपुरबाट बारा प्रहरीले पक्राउ गरेको थियो । जीतपुर हुँदै पर्सा जाने क्रममा शंकास्पद गतिविधि गरेपछि चेकजाँचको क्रममा उनको साथबाट प्रहरीले लागू औषध बरामद गरेको थियो । प्रहरी मुख्यालयको तथ्यांक हेर्दा विभिन्न आपराधिक गतिविधिमा महिला संलग्नता बढ्दै गएको पाइएको छ । प्रहरी तथ्यांकमा आपराधिक गतिविधिमा ६ दशमलव २८ प्रतिशत महिला संलग्न रहेको देखिएको छ ।

लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेर डनकै शैलीमा आपराधिक संसारमा सक्रिय काइँली तामाङ हुन् वा प्रेमको नाटक गरेर ठगी गर्ने भगवती केसी वा हत्याजस्तो जघन्य अपराधकर्ममा संलग्न संगीता, रीतादेवी र फूलकुमारी नै किन नहुन् यी सबै घटनाक्रमले अपराधमा महिलाहरूको संलग्नता देखिएको छ । काइँली तामाङलाई भने प्रहरीले केही महिना अघि पक्राउ गरेर केन्द्रीय कारागारमा पठाएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार विगत दुई वर्षमा आपराधिक गतिविधिमा संलग्नता रहेको आरोपमा ४ हजार १५५ जना महिला पक्राउ परेका छन् । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको अपराधमा १ हजार २७३ महिला संलग्न रहेका छन् । लागुऔषधमा ३९५ जना र कर्तव्य ज्यानमा २३९ जना महिला पक्राउ परेका छन् । साथै लुटपाट, चोरी, अवैध सामान ओसारपसार लगायतका कार्यमा पनि महिलाको संलग्नता छ ।

आव ०७६÷०७७ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको अपराधमा ८९९, लागू औषधमा १९२ र कर्तव्य ज्यानमा ११९ जना महिला पक्राउ परे । यसैगरी, ०७७÷०७८ मा यसै सन्दर्भमा ३७४, लागू औषधमा २०३ र कर्तव्य ज्यानमा १२० जना महिला पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले अपराधमा महिलाको संलग्नता बढ्दै गएको बताएका छन् । ‘कहिलेकाही व्यक्तिगत रिसइबी र कहिले लेनदेन कहिले सुविधाभोग तथा यौन विकृतिका कारण अपराधमा महिलाको संलग्नता बढ्ने गरेको यो राम्रो कुरा होइन’, एसएसपी कुँवरले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *