आरोपीलाई पक्राउ गर्न खोज्दा झडप, ५ प्रहरी घाइते
काठमाडौं । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति ५९ वर्षीय कान्छा लामाको हत्या भएको छ ।
राप्ती नगरपालिका ९ शीतलपानीका लामाको हत्या आरोपित छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए । शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए ।
हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ । घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।







डिसी नेपाल








Facebook Comment