भक्तपुरमा सभाजुलुस गर्न रोक
भक्तपुर। भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस महामारीको जोखिम कायम रहेकोले प्रशासनले सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि सभा जुलुस गर्न रोक लगाएको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएकी छन्। नजिकिदै गरेको चाडपर्वहरूलाई ध्यानमा राखी बढी भीडभाड हुने कार्यक्रमहरू आयोजना गर्न रोक लगाइएको छ। प्रशासनले चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरेकाे छ। होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ।
औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवा कृत्रिम अभाव वा लुकाउने, मुल्य वृद्धि गर्ने वा असहजता सृजना गरेमा कानुन बमोजिम सजाय हुने आदेशमा उल्लेख छ । निजी वा सार्वजनिक निर्माण ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न सकिनेछ।
यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरूलाई प्रशासनले आग्रह गरेको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ । सर्वसाधरण सबैले अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्न पनि प्रशानसले आग्रह गरेकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment