पक्की पुल र सडक नबन्दा झोलुङ्गोमै बिरामी
काठमाडौं । सडककोे अभव र खोलानालामा पक्की पुल नबन्दा सर्लाहीको चुरे क्षेत्रका वासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता छ।
दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ। वर्षाका बेला खोला तरेर झोलुङ्गोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ। दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताए ।
गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पुर्याउन हामी बाध्य छौ तर खोलामा बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाको भनाइ थियो ।
जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ। ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment