पश्चिम बंगाल उपनिर्वाचनः ममता बनर्जीको सानदार जित, मुख्यमन्त्री पद सुरक्षित
काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा भएको विधानसभा उपनिर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले सानदार जित हासिल गरेकी छन् । प्रतिद्वन्द्वी भाजपाकी प्रियंका टिबरेवाललाई ५८ हजार बढी मतान्तरले पराजित गर्दै तृणमूल कंग्रेसकी नेतृ ममताले मुख्यमन्त्री पद सुरक्षित गरेकी हुन् । ममताले ८४ हजार ७०९ मत प्राप्त गरिन् । बीजेपी उम्मेदवार प्रियंकाले आफ्नो हार स्वीकार गर्दै ममतालाई जितका लागि बधाई दिएकी छन् ।
कोलकाताको भवानीपुरसहित मुर्शिदाबाद जिल्लाको शमशेरगन्ज र जंगीपुर गरी तीन निर्वाचन निर्वाचन क्षेत्रमा बिहीबार मतदान भएको थियो । मतगणनामा शमशेरगन्ज र जंगीपुरमा पनि तृणमूल कंग्रेसले अग्रता लिइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री बनर्जी गत अप्रिलमा भएको विधानसभा चुनावमा नन्दीग्रामबाट भाजपा उम्मेदवार शुभेन्दु अधिकारीसँग झिनो मतअन्तरले पराजित भएपछि उनका लागि भवानीपुर खाली गरिएको थियो । भवानीपुरबाट निर्वाचित शोभनदेव चट्टोपाध्यायलाई राजीनामा गराएर ममताका लागि उपचुनाव गरिएको हो । उपचुनाव जितेसँगै उनी मुख्यमन्त्री पदमा कायमै रहने पक्का भएको छ ।
यसअघि चुनाव हारे पनि ममताले ६ महिनाभित्र विधानसभा सदस्य बनिसक्नुपर्ने संवैधानिक प्रावधानअन्तर्गत मे महिनाको पहिलो साता मुख्यमन्त्रीको सपथ लिएकी थिइन् । जसअन्तर्गत भवानीपुरबाट निर्वाचित भएकी हुन् । यदि उनी चुनाव हारेको भए तृणमूल कंग्रेसले ममताको ठाउँको अर्को निर्वाचित विधानसभा सदस्यलाई मुख्यमन्त्री बनाउनु पर्थ्यो ।
जितपछि मुख्यमन्त्री बनर्जीले कार्यकर्तालाई सम्बोधन गर्दै भवानीपुरमा केन्द्र सरकारले षयन्त्र गर्न खोजेको टिप्पणी गरेकी छन् । सानो निर्वाचन क्षेत्रमा ३।५ हजार केन्द्रीय सुरक्षा फोर्स तैनाथ गरेको भन्दै यो आफूहरुविरुद्धको षडयन्त्र भएको उनको भनाइ छ । उनले नन्दीग्राममा पनि अनेक षडयन्त्र भएको तर अदालतमा मुद्दा भएकाले अहिले केही नबोल्ने बताइन् ।







डिसी नेपाल







Facebook Comment