एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेल सकिए, प्लेअफमा को–को भिड्दैछन् ?

डिसी नेपाल
१९ असोज २०७८ १२:५३
120
Shares

काठमाडौं। एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेलहरु सकिएका छन् । आजको खेल मैदान चिसो भएका कारण रद्द भएपछि अब लिगको प्लेअफ समीकरण पूरा भएको हो । आज हुनुपर्ने काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल रद्द भएसँगै दुवैले अंक बाँडेका छन् । र, दुवै टिम प्लेअफ पुगेका छन् ।

समूह चरणका खेल सकिँदा चितवन टाइगर्स ८ अंकसहित पहिलो, भैरहवा ग्लाडिएटर्स ७ अंकसहित दोस्रो, पोखरा राइनोज ७ अंकसहित नेट रनरेटका आधारमा तेस्रो र काठमाडौं किंग्स ११ ३ अंकसहित नेट रनरेटका आधारमा चौथो स्थानमा रहँदै प्लेअफ पुगेका छन् । काठमाडौंकोजति ३ अंक भएपनि नेट रनरेटमा पछि परेको ललितपुर प्याट्रिओट्स र १ खेल मात्र जितेर २ अंक भएको विराटनगर वारियर्स बाहिरिएका छन् ।

अब पहिलो क्वालिफायर भोलि बिहान साढे ९ बजे पहिलो र दोस्रो स्थानका चितवन र भैरहवाबीच हुनेछ । यो खेल जित्ने टिम सिधै फइनलमा पुग्नेछ । हार्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ । भोलि नै साढे १ बजे पोखरा र काठमाडौंबीच इलिमिनेटर खेल हुनेछ । यो खेल जित्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ र हार्ने टिम बाहिरिनेछ ।

दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो सवा १२ बजे हुनेछ । यो खेल पहिलो क्वालिफायर हार्ने टिम र इलिमिनेटर जित्ने टिमबीच हुनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनलमा पुग्नेछ र हार्ने टिम बाहिरिनेछ । फाइनल खेल पहिलो क्वालिफायर जित्ने टिम र दोस्रो क्वालिफायर जित्ने टिमबीच शनिबार दिउँसो सवा १२ बजे हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.