बाग्मती प्रदेशसभा अधिवेशन २४ असोजमा, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

डिसी नेपाल
२० असोज २०७८ २०:५८

मकवानपुर । बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ ।

प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोज दिनको ३ बजे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार अब आह्वान हुने अधिवेशनमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछन् ।

एमालेको एकल बहुमत रहेको बाग्मती प्रदेशमा १३ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार संचालन गरिरहेकी छन् । मुख्यमन्त्री शाक्यको दल एमालेका ४३ जना सांसदको साथ बाग्मती सरकार संचालन भइरहेको हो ।

पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री शाक्यले नवौँ अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भए पनि उनले विश्वासको मत पाउने अवस्था अहिले छैन ।

प्रदेशसभामा अहिले १०९ जना सांसद रहेका छन् । एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमालेबाहेक अरूसँग भरपर्ने अवस्था भएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरूको सरकार बनाउने विपक्षी गठबन्धनको तयारी छ ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफूहरूमध्येबाट नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । उनीहरूका अनुसार गठबन्धनमा ५९ मत रहेको छ । सरकार बनाउनका लागि ५५ मत आवश्यक पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *