बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई कृषकले पठाए पत्र

डिसी नेपाल
२० असोज २०७८ २२:३६
52
Shares

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कृषक खनालले कुसुमखोलाका किसानहरूको प्रतिनिधित्व गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएका छन् । बाँदरले हैरानी गराएपछि यहाँका किसानहरूले बाँदर नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहारेका छन् ।

प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा बाँदर नियन्त्रण गरिदिनुका साथै कृषक बीमाको व्यवस्था गर्नुपर्ने, उचित सिँचाइको व्यवस्थापन गरिनुपर्ने, कृषि ज्याला निर्धारण हुनुपर्ने, प्राङ्गारिक मलको कारखाना स्थापना गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा खाद्यान्न गोदाम स्थापना गर्नुपर्ने, भूमि बैंकको स्थापना गर्नुपर्ने, मुक्त कमैया, भूमीहीन, बाढीपीडित, भूकम्पपीडित कृषकलाई खेतीयोग्य जग्गा उपलब्ध गराउनुपर्ने, खेतीको विविधीकरण गरी जहाँ जे उत्पादन हुन्छ, त्यही खेतीलाई सरकारले प्राथमिक दिनुपर्नेलगायतका माग उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानका उचित माग सम्बोधनका लागि ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । अगुवा कृषक खनालले आफूले बाँदरको समस्याले गर्दा मकै खेती गर्न छाडेर बेसार खेती गरेको बताएका छन् । उनले सरकारी संयन्त्र प्रभावकारी नहुँदा नेपालमा प्रशस्त संभावना हुँदाहुँदै पनि कृषकहरूले उचित फाइदा लिन नसकेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *