दसैँमा व्यक्तिगत चिन्ताभन्दा निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने हुन्छ : एसपी दानबहादुर कार्की

डिसी नेपाल
२८ असोज २०७८ ९:१७

काठमाडौं। चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ। फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीसँग फौजी दसैंबारे गरिएकाे कुराकानी :

दानबहादुर कार्की

कपिलवस्तुमा हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गर्ने र दसैंको टीकाकै दिन बिसर्जन गर्ने कार्यक्रम हुँदै आएको छ। बिसर्जन गर्ने क्रममा डिजे बजाउने, उफ्रिने र खासगरी कृष्णनगरमा झडप भएर मान्छे मृत्यु हुनेसम्मको घटना हुँदै आएको छ।

त्यसकारण टीकाको दिन टीका लाउनेभन्दा पनि कर्तव्यबोधको दायित्वले त्यहाँ चनाखो भएर ड्युटीमा खटिनुपर्ने अवस्था छ। म आफू विदामा जान्न । अन्य टोलीलाई पनि मूर्ति बिसर्जन कार्यलाई शान्तिपूर्ण र हिन्दु मुस्लिमका बीचमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेपछि मात्रै विदामा जाउला भनेर स्टाण्डबाई राखिएको छ ।

दसैं मनाउने कुरामा अरु ठाउँमा जस्तै अष्टमी, नवमीमा मौलो पूजा गर्ने, सबै प्रहरी कर्मचारीसँग सँगै बसेर खाना खाने हुन्छ । टीकाको दिनमा मेरो घरपरिवार नै प्रहरी कार्यालय भएकाले इच्छुक प्रहरीहरु टीका लाउन पनि आउँछन् । तर यसपालि त्यो हुँदैन । सम्पूर्ण प्रहरी कर्मचारी दुर्गा बिसर्जन कार्यक्रममा अझ सक्रियताका साथ खट्नुपर्नेछ ।

कपिलवस्तुमा दुर्गामूर्ति सेलाउने नै त्यस दिन पर्ने हुनाले अलि नमिल्ने स्थिति छ । मैले आमाको हातबाट टीका नलगाएको ५ वर्ष भयो । यसपालि पनि टीका लाउन आएन, बाँचिन्छ कि मरिन्छ के हो, भेट पनि भएन भन्ने गुनासो आमाबाट आउँछ ।

तर, एउटा बुझाई के छ भने छोरोको जागिर नै यस्तो छ, सेवा गर्ने हो, यो आउन्न, हामी पनि घर छोडेर हिँड्न पाउँदैनौं, अरु बच्चा पनि हुन्छन् त्यसले पनि लाउन पाउँदैन भनेर आमाले पिर गरेर रुनुहुन्छ ।

अब यसो फकाउनुपर्छ । यसो हुँदा खल्लो त लाग्छ । तर आफू शान्ति सुरक्षा कायम गर्ने दायित्वमा बसेको भएर व्यक्तिगत चिन्ता भन्दा पनि हामीले निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने भएकाले केही खल्लो भए पनि अब बानी परिसक्यो, स्वभाविक भइसक्यो ।

न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *