कार्यालय खोलियो : कार्यादेश नदिँदा तलब बुझ्दै, कार्यालय कुर्दै कर्मचारी, सेवाग्राही मारमा

डिसी नेपाल
२ कार्तिक २०७८ ७:३०

जाजरकोट। आफ्नै घर, आँगनमा यातायात कार्यालय भए पनि काम लिनका लागि सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता रुकुम पश्चिम तथा जाजकोटका बासिन्दालाई छ।

रुकुम पश्चिमको चोरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको २ वर्ष पुगे पनि कार्यादेश नपाउँदा कर्मचारीहरु प्रत्येक महिनाको तलब बुझेर बस्ने कामबाहेक अरु काम नहुने गरेको निमित्त कार्यालय प्रमुख प्रदीपकुमार रेग्मीले बताए । २६ भदौ २०७६ मा स्थापना भएको यस कार्यालयबाट काम नपाउँदा दिनभरी कार्यालय कुरेर कोठा जानुपर्ने बाध्यता आइलागेको रेग्मीले बताए।

उनले भने, ‘कार्यालय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको छ। कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको छ । कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन । हामी कामका लागि तयार छौँ। ’

काम गर्नका लागि अधिकार पाउन (कार्यादेश) पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि सुनुवाइ नभएको कार्यालय प्रमुख रेग्मीले बताए।

दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो। अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ। कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय राज लामिछानेले बताए।

कार्यालयमा उपसचिवसहित एक/एक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए। अहिले विस्तारै कर्मचारी सरुवा मिलाएर अन्यत्र जाँदा ४ जना कर्मचारी कार्यालयमा कायम रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *