कुदुबासीको पानीको तिर्खा कहिले मेटिएला ?

डिसी नेपाल
३ कार्तिक २०७८ १५:३७
156
Shares

जाजरकोट । वाम एकता गरि चुनावी मैदान जाँदा तत्कालिन नेकपा (माओवादी केन्द्र) नेता शक्तिबहादुर बस्नेतको नारा थियो भेरी नगरपालिका–१३ कुदुमा यहीँ वर्ष खानेपानी पुर्याउने। उनी सोही नाराले चिर्वाचन जितेर वनमन्त्री पनि भए तर कुदुबासीको तिर्खा जस्ताको तस्तै छ।

भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्छ। महत्वपूर्ण भूभागको बीचमा पर्ने भएकाले सबैलाई चुनावी नारा बनाउन यो ठाउँले साथ दिइरहेको छ। ठाउँको नाम बिक्री गरेर शक्तिबहादुर बस्नेत मन्त्री बने, तर यस ठाउँका नागरिकले भने तिर्खा मेटिनेगरी पानी पिउन पाएका छैनन्। करिब ५० लाख रुपैयाँ खर्चमा डिप बोरिङ गरि निकालिएको पानी पनि तीन सय परिवार कुदुबासीलाई हात्तीको मुखमा जिरा जस्तो भएको छ।

तीन सय घरभुरी रहेको यो ठाउँको छेउबाट भेरी नदी बग्ने गर्छ। भेरी नदीको पाल्लो छेउमा नयाँ सहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ। जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नु पर्दा हैरान हुने गरेको स्थानीय नरबहादुर बस्नेतले बताए। बस्नेत भन्छन्, ‘यहीँ बाटो भएर जाने सर्वसाधारण ठाउँ त राम्रो हो, तर पानी नहुँदा बस्न मुस्किल रहेछ भन्छन्।’

कुदु सडक सन्जालले घेरेको स्थान पनि हो। तर खानेपानी अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ। नजिकै भेदी नदी, समथर भूभाग भए पनि सिंचाइ अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन।

प्रत्येक दिन भेरी नदी किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमती विक पानीको दुःखले दिक्क भइसकेको बताइन्। उनी भन्छिन्, ‘फोहोर पानी पिउँदा हरेक हप्ता परिवारमा कोही न कोही बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं।’

आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका जाजरकोट कुदुका सार्वसाधारणले पानीका लागि धेरै ठाउँमा गुहार मागे । खास परिणाम आउने गरी कतैबाट पनि काम नहुँदा दिक्क लागेको कुदुका श्याम विकले बताए। उनले भने, ‘भेरीको भेलमा हामीले पानी भरेर ल्याएको तपाईंहरूले देख्नुभएको छ, यसको फोटो खिचेर नेताहरूलाई जसरी नि देखाइ दिनुहोला, चिल्ला गाडीमा नेताहरू आउने बाटो यही भए पनि उनीहरुले देख्दैनन्।’

यही गाउँबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता केन्द्रीय राजनीतिमा छन्। वर्षौंदेखि आफूहरूले राखेको खानेपानी माग पूरा नहुँदा सर्वसाधारण निराश छन्। कुदुमा पानीको समस्या नौलो नभएको बताउँछन् स्थानीय शेरबहादुर बस्नेत। बोरिङ गरेर निकालेको पानी एक घन्टा मात्र आउने हुँदा कुदुबासीलाई छेउ, टुप्पो हुने गरेको छ । कुदुका तीन सय परिवारलाई बोरिङको पानी हात्तीको मुखमा जिरा भएको स्थानीयवासी बताउँछन्।

पानी अभावको समस्या लिएर माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, रामदीप आचार्य, एमालेका निरज आचार्य, कांग्रेसका मुक्ति आचार्यको घर समेत गरेको स्थानीय लोकेन्द्र रोकायले बताए ।

सिंचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने

कुदुमा खेतीयोग्य जमिन प्रशस्त भए पनि आकाशे पानीको भर पर्नु पर्दा उत्पादन राम्रो हुँदैन। कुदुमा जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि आकाशे पानीको भरमा किसानहरू खेती गर्दै आएका छन्। पिउने पानी समेत नभएको ठाउँमा सिँचाइ सुविधा हुनु नयाँ विष त होइन। तर सिंचाइको सुविधा भए एउटै गाउँले सिंगो जिल्लालाई पाल्न सक्ने क्षमता राख्ने स्थानीय हरि बस्नेतले बताए। भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने किसानहरू बताउँछन्।

कुदुमा तिहार लगत्तै खानेपानीको नयाँ आयोजना : बस्नेत

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले कुदुको खानेपानी घोषणा पत्रमा मात्र होइन अब परिणाममा आउन लागेको दावी गरे। उनले भने, ‘पहिलो चरणमा खानेपानीको समस्या समाधान गर्नका लागि करिब दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु भइसकेको छ। अर्को वृहत योजनाका लागि ३६ करोड बराबरको डिपिआर तयार तिहारलगत्तै बोलपत्र आह्वान गर्न लागेको छ।’

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नारायण काफ्ले पनि सो कुराको पुष्टि गरे। उनले भने, ‘कुदुको खानेपानी समाधानका लागि तिहारलगत्तै जाजरकोट आएर काम थालनी गरिने छ, म आफैँ आएर फिल्ड अनुगमन गर्ने कार्यक्रम छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *