राजेश हमाल अब गायक पनि

डिसी नेपाल
११ कार्तिक २०७८ १३:०९
348
Shares

काठमाडौं। अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन्।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो।

‘हमाल दाइलाई आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ,’ गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो।’

गीत मन पराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेछन् । ‘दाइसँग दुई पटकको बसाइमा राम्रो ‘प्राक्टिस’ भयो,’ संगीतकार शर्माले भने, ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल पकड्नु भयो । त्यसपछि गीत रेकर्ड गर्‍याैँ।’

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए।

तर, त्यसलाई गीत मान्न सकिँदैन । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शकस्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *