सत्तारुढ गठबन्धनलाई छल्दै प्रधानमन्त्री, प्रचण्ड बालुवाटार पुगेपछि शपिङ्गलाई निस्केका थिए देउवा

डिसी नेपाल
१३ कार्तिक २०७८ २२:५२
5.4k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटारमा पुगिसकेका थिए । साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन लण्डन जाने तयारीमा थिए । शुक्रबार लण्डन उड्नुपर्ने थियो । प्रचण्ड बालुवाटार पुगेको विहीबार अपराह्नको कुरा थियो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई कुरेर बैठक कोठामा बसेका थिए । प्रचण्ड आएको खवर पाएका प्रधानमन्त्री भने उनीसँगको सो भेटघाट छल्न खोजिरहेका थिए । प्रधानमन्त्री देउवाले हतारो देखाए । उनले अहिले होइन फर्केपछि बसूँला भन्दै प्रचण्डलाई टारे । यसका लागि उनले तत्काल उपाय पनि निकाले शपिङ्गमा जाने ।

बालुवाटार स्रोतका अनुसार, प्रचण्ड र यादवलाई त्यसदिन छल्नुको कारण थियो सर्बोच्च अदालतभित्रको लफडा । बालुवाटार जानुअघि नै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनका पाँच दलको बैठक राख्नेबारे सल्लाह गर्न आउन लागेको जानकारी देउवाको सचिवालयलाई गराएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई अब थप मौका नदिने र उनलाई महाभियोगको प्रस्ताव दर्ता गराएर हटाउने योजनामा छन् प्रचण्ड ।

त्यहीअनुसार, उनको संयन्त्रले न्यायपालिकामा काम पनि गरिरहेको छ । बालुवाटार जग्गा प्रकरणमा भ्रष्ट्राचारसम्बन्धी मुद्धामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संलग्नताबारे फैशलाको अन्तिम चरणमा छ सर्बोच्च अदालत र त्यो मुद्धा प्रधानन्यायाधीश राणा स्वयंले आफ्नै बेञ्चमा राखेका पनि छन् । त्यसैले प्रचण्ड र नेपाल दुवै प्रधानन्यायाधीश राणासँग ढुक्क छैनन् ।

सत्ता गठबन्धनभित्र माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी प्रधानन्यायाधीश राणाको विपक्षमा देखिएका छन् । यो हिसावले प्रधानमन्त्री गठबन्धनभित्र अल्पमतमै छन् । सबैको एउटै धारणा आउंदा स्वीकार गर्ने वाध्यता हुनसक्छ कि मान्दिन भनेर गठबन्धनभित्र थप तिक्तता बढाउनु पर्ने हुन्छ । बरु यो विषयमा थप छलफल गर्ने वाताबरण नै बनेन वा बन्न दिएन भने जो जो जेजे हिसावले चलेका छन् त्यही ठिक छ भन्ने हुन्छ भन्ने धारणामा छन् प्रधानमन्त्री देउवा ।

यही कारण उनले प्रचण्डले राखेको पांच दलीय गठबन्धनको बैठक छलेर लण्डन जाने योजना बनाएका हुन् । सो बैठक छल्न त्यसदिन प्रचण्डसंगको भेटघाट छल्नुपर्ने थियो त्यसैले उनी शपिङ्गको वाहना बनाएर सिटी सेन्टरतिर जाने कार्यक्रम बनाएर बालुवाटारबाट हिडेका थिए । समाचारअनुसार, उनी सिटी सेन्टरमा एक घण्टा विताएरमात्र बालुवाटार फर्किएका थिए ।

त्यसो त प्रधानमन्त्री देउवा गठबन्धनको बैठक विगत केही समयदेखि नै छल्दै आएका छन् । बैठक नै बोलाउन आनाकानी गर्दै आएका छन् । बरु छल्नका लागि भरभग्दुर प्रयास पनि गर्दै आएका छन् । यही प्रयासमा उनी पोखरा भ्रमणमा गएका बेला उतै बसिदिए भने सुदूर पश्चिम भ्रमणमा पनि त्यसै गरे । विराटनगर भ्रमण जांदा पनि उतै बस्ने कार्यक्रम बनाएका थिए तर घरायसी कुनै कारण परेर उनी सांझ फर्किएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्री देउवा सत्तारुढ गठबन्धनले अस्वीकार गर्ने अर्ली इलेक्सनको पक्षमा छन् । यो विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओली र उनका बीच मत मिलेको छ । यो विषयमा गठबन्धनको बैठक राखेर बैठकमै मतमतान्तर हुनुले सत्तालाई अस्थीर बनाउने हुँदा आफूलाई अनुकूल नहुन्जेल यो विषय गठबन्धनको बैठकमा प्रवेश गराउने पक्षमा छैनन् देउवा ।

उनी लण्डनबाट फर्कदासम्म नेपालमा तिहार लाग्ने र त्यसको छुट्टी हुने भएकाले आफू हिडेपछि तिहारपछिसम्मको अवधिमा सर्बोच्चको लफडामा पनि परिवर्तन आउनसक्ने आंकलन गरेका छन् देउवाले । तर, त्यो कस्तो परिवर्तन हो भन्ने चाहिं खुलेको छैन । उनले सर्बोच्चको लफडा समयलाई जिम्म लगाउने विचार गरेको बुझ्न सकिन्छ । तर, यसरी कतिन्जेल समस्याबाट भाग्न सक्लान त उनी ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.