विवादकाबीच कमल पोखरीमा छठ पर्व

रिता बस्नेत
२४ कार्तिक २०७८ १३:३६

काठमाडौं। बुधबार साँझ एक ब्रतालु बासको लामो टुक्राले कमलपोखरीको छेउमा पानी नाप्दै गुनासो गर्दै भन्दै थिए, ‘खोइ कसरी यत्रो पानीमा पसेर पूजा गर्ने? पहिला त पानीमा पस्न बासको सिँढी थियो, अहिले त महानगरपालिकाले जिम्मा लिएकाले सबै लथालिंग भयो।’

नक्साल घर भएका रन्जित साहले आफूसहित परिवारका अन्य सदस्यसमेतले ब्रत लिएकाले आइमाई केटाकेटी पानीमा पस्न सक्छन् कि सक्दैनन् भनेर पोखरीको चारैतिर छेउमा बासको घोचोले पानी नापेको बताए। उनका अनुसार हालसम्म छठ पूजाको व्यवस्थापन गर्दै आएको ‘कमल पोखरी छठ पूजा समाज’ले गरेको भए व्यवस्थित हुन्थ्यो।

उनले भने, ‘संघको मान्छेले बनाएको भए त बास गाडेर सिँढी पनि बनाइदिन्थ्यो। अहिले संघलाई महानगरपालिकाले आफै गर्ने भनेर भगाइदिएछ, अनि सबै बिगार्यो। यसपाली भद्रगोल बनाइदियो। समितिलाई के कसरी गर्ने सबै थाहा थियो।’

चार फिट पानीमा उभिएर कसरी पूजा गर्ने भनेर परिवारसहित पोखरीको डिलमा बसेर २/३ घण्टादेखि छलफल गरिराखेको बताउने उनी भन्छन्, ‘घरमै गरौं कि यहाँ आउ भनेर सोचिराखेको छु। मैले चारैतिरबाट नापिसके सबैतिर गहिरो छ।’

सुरुमा छठपूजा समाजले कमलपोखरीमा पूजा गर्न ब्रतालुहरुलाई घाटको कुपन (टोकन) समेत बाडिसकेको तर अन्तिम समयमा आएर सो कुपन फिर्ता दिएको गुनासो गर्दै साहले भने, ‘दिएको टोकन रद्द भयो । पोहोर त पानी कम थियो, सिढी पनि बनेको थिएन, सजिलो भएको थियो। यसपटक पोखरीको वरिपरि सिँढी बनाएर गाह्रो भयो, अन्तिम सिँढीदेखि एकैचोटी चार फिट तल पानी छ । र, के गर्ने भनेर परिवारलाई हेर्न बोलाएको । पानी मुनि पनि दुई वटा खुड्कीलो बनाइदिएको भए सजिलो हुन्थ्यो ।’

साहले आफ्नो घर नजिकै कमलपोखरी परेकाले सधैँभरि त्यही छठपूजा गर्दै आएको बताए । उनका अनुसार संघले १०–११ वर्षदेखि छठपूजाको व्यवस्थापन गरिराखेको यसअघि पूजा गर्दा कुनैपनि समस्या नआएको बताए ।

उनले भने, ‘हाम्रो घर नजिक भएर र यहाँ सफासुग्घर पनि छ । पहिला यहाँ बासको भर्याङ बनाएको हुन्थ्यो, अहिले महानगरपालिकाले उहाँहरुलाई गर्न नदिने भनेर भगाइदिएछ । अब यो भर्याङ लगाउनेसम्बन्धी नगरपालिकालाई थाहै नएको कुरा हो ।’

अन्त्यमा, साहले कमलपोखरीको विकल्पमा अन्य ठाउँमा पूजा गर्न सम्भव नहुने सुनाए । उनले भने, ‘अब बाटा(भाडो)मा पानी राखेर गर्ने हो कि भनेर सोचिराखेको छु । हुनत बाटामा पानी राखेर गर्नु पर्यो भने त घरको छतमा बसेर गर्दा पनि भैहाल्छ । अब समय पनि छैन, गुहेश्वरीमा पनि धेरै भिड हुन्छ । सबैतिर बुक भैसक्यो होला ।’

कमलपोखरीमा हुँदै आएको छठपूजाको व्यवस्थापन यसपटक आफ्नो संस्थाले नगरेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनले भने, ‘यहाँ हामीले सुरुदेखि नै छठ पूजाको व्यवस्थापन गर्दै आएका थियौं । नवौं पटक हामीले गरिसक्यौं । १०औँ पटक कोभिडले गर्न दिएको थिएन तर पनि हामीले सिडियोबाट स्वीकृति लिएर, यो घाट खाली गर्न हुन्न भनेर २५ जनामार्फत पूजा गराएका थियौं । अहिलेको यो ११औँ पटक दिपावली अगाडिनै सबै तयार गरिसक्थ्यौ । तयारी गर्ने क्रममा अहिले आएर हामीलाई हटाइयो ।’

उनका अनुसार सीडीयोमार्फत स्वीकृति लिएर यसपटक गर्न लागेको छठपूजालाई महानगरपालिकाले अवरोध गरेको छ । उनले भने, ‘हामीले लाइन(चिन्ह) कोरेर ब्रतालुहरुलाई घाटको कुपन काटेर दिने क्रम गर्दै थियौं । ठाउँठाउँमा ब्यानर पनि राखेका थियौं । तर, एक्कासी महानगरपालिकाका डिएसपी सर आएर यो तपाईहरुको ब्यानर झिक्नुस्, यसपटक तपाईहरुलाई छठ नगर्ने आदेश भएको भन्नु भयो र ब्यानर झिकेर सबै थन्काएर राख्यौं ।’

सिंहले पुनःस्वीकृतिका लागि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कहाँ जाँदा समेत स्वीकृति नपाएको बताए । उनले भने, ‘मेयरसाहेब कहाँ गएर हामीले सिडियोबाट स्वीकृति लिइसकेको निवेदन देखायौं । तर उहाँले सीडियो साहेबलाई फोन गरेर रद्द गर्न निर्देशन दिनु भयो ।’

सिंहका अनुसार सिडियोले कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड अपनाई यसपटक छठपूजा गर्न स्वीकृति दिएको थियो । तर, राजनीतिक द्वन्द्वका कारण छठपूजाको व्यवस्थापन आफूहरुलाई नदिएको सिंहले गुनासो गरे ।

उनले भने, ‘तीन पटक कमलपोखरी अस्तव्यस्त भएको बेला छठपूजामा राष्ट्रपतिलाई स्वागत गरेको उहाँ(मेयर शाक्य)ले नै हो । अहिले मिडियामा ९५ प्रतिशत काम सकियो भनेर आफै भन्नु हुन्छ तर अहिले बस्दोबस्त भइसकेपछि यसपाली गर्न नदिने भन्नु भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सवारी हुने ठाउँ भन्दा पनि उहाँले तराईका मन्त्रीहरुले रानीपोखरी खोल्न भन्नुभएको थियो तर म खोल्दिन भन्नु भयो । जहाँसम्म मलाई लाग्छ उहाँले राजनीतिक द्वन्द्वको रिसिभी हामीलाई पोखाएको हो ।’

सिंहका अनुसार कमलपोखरीमा यसपटकको छठपूजा महानगरपालिकाले गर्ने भएको छ र राष्ट्रपतिको सवारीसमेत हुने छ । टोकन सिस्टम नभएकाले पूजा गर्न भने जो पहिला पुग्छ उसैले ठाउँ ओगटेर पूजा गर्ने छ ।

सिंहले गुनासो गर्दै भने, ‘गएका दिनमा छठपूजामा राष्ट्रपतिको सवारी हामीले गर्न नसकेको भए, आफ्नो जिद्दी र राजनीतिक द्वन्द्वले गर्दा उहाँ(मेयर)को यसपटकको छठपूजा बन्द नै गर्ने योजना थियो । राष्ट्रपति आउने भएको भएर उहाँले हामीले सफा गरेको ठाउँमा अहिले टेन्टहरु हाल्दै हुनुहुन्छ ।’

९ र १० नम्बरको घाट लिएका एक युवाको टोकन फिर्ता गर्दै सिंहले भने, ‘पैसा पनि फिर्ता लानुस है । टोकन नभएपनि बिहानै आएर ठाउँ ओगटेर पूजा गर्नु होला । यसपाली मेयरसाहेबले राजनीतिक द्वन्द्वको रिस हामीलाई पोखाउनु भयो ।’

सिंहका अनुसार कमलपोखरीमा छठपूजा नै गर्न नदिने भनेपनि अन्तिम समयमा आएर महानगरपालिकाले राष्ट्रपति सवारीका कारण गर्ने भएको हो । अध्यक्ष सिंहका अनुसार प्रत्येक वर्ष छठपूजाको लागि कमलपोखरीमा दुइ सय ३९ वटा घाट हुने गथ्र्यो ।

यसपटकको छठपूजामा भोलेन्टियर भएर काम गर्ने छठपूजा समाज अध्यक्ष सिंहले बताएका छन् । उनले ब्रतालु तथा आगन्तुक श्रद्धालुहरुको लागि ट्वाइलेट आदिको व्यवस्थापनको लागि अग्रवाल भवनलाई आग्रह गरेको बताए । साथै, नजिकै रहेको स्कुलमा पनि ट्वाइलेटको व्यवस्थामा पहल गर्ने बताए ।

उनले पूजाको लागि ७०–८० जनाले लिएको घाटको कुपन र पैसा सबै फिर्ता गरिसकेको र अब ७–८ जनाको फिर्ता गर्न बाँकी रहेको बताए । कमलपोखरीमा महानगरपालिकाले बिना कुपन छठपूजा गर्ने भएको छ । ‘जसको शक्ति उसकै भक्ति’ भने झै ब्रतालुहरु कमलपोखरीमा आज(बुधबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पूजा गर्ने गर्छन् ।

उता, कुपन सिस्टमको व्यवस्था महानगरपालिकाले नगरेकाले बिहानैदेखि पूजा सामग्री राखेर ठाउँ अगट्ने बताउँछन, संस्थालाई कुपन फिर्ता गर्न आएका सन्तोष कुमार साह । साह भन्छन्, ‘ममी, बुवाको ब्रत छ, पूजा सधैं यही गरिराखेको हो । यसपटक एकैपटक चार फिट गहिरोमा ब्रतालुहरु कसरी पानीमा जान्छ, थाहा छैन । फेरि यो ब्रतमा पानीमा पसेर डालो पानीमा छुवाउनै पर्छ । फेरि कोही कोहीको हाइट पनि कम हुन्छ । यसपटक धेरै जनालाई गाह्रो हुने भयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *