नारायणी किनारमा असरल्ल एमालेका सपनाहरु…

मदन कोइराला
१० मंसिर २०७८ ६:३४

चितवन । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेको थियो। नाकाबन्दीका कारण नेपालमा पेटेलियम पदार्थ र खाना पकाउने ग्यासको हाहाकार थियो। प्रधानमन्त्रीका रुपमा ओलीले भारतीय नाकाबन्दीका सामु नझुक्ने भन्दै सम्वृद्धिको नारा घन्काए। उनले घरघरमा पाइपलाईनबाट ग्यास र नेपालको झण्डा फरहाउँदै पानी जहाज चलाउने घोषणा गरे ।

ओलीले पानी जहाज चलाउने घोषणा गर्दा कतिपयले व्यांग्यात्मक रुपमा बाल्टीमा पानी भरेर कागजको पानी जहाज पनि चलाए। रोडमा जमेको पानीमा समेत कागजका पानीजहाजहरु देखिन थाले। आफ्नो नौ महिनाको कार्यकालमा राष्ट्रियताको पक्षमा बलियाे अडान लिएका ओली एकाएक राष्ट्रिय हिरो बने। राष्ट्रवादी नेताको छबी बनाएका ओलीले २०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धन गरेर शक्तिशाली प्रधानमन्त्रीका रुपमा दोस्रोपटक कार्यभार सम्हाल्न पुगे।

अघिल्लोपटक आफूले गरेका बाचा दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि पूरा नगरेको भन्दै ओलीको चर्को आलोचना हुन थाल्यो। घरघरमा पाइपबाट ग्यास पुर्‍याउने, जहाज चलाउने र रेल चलाउने ओलीको प्रतिवद्धता पूरा त भएनन् नै आफ्नो नेतृत्वको ५ वर्षे जनादेश पाएको सरकार पनि ओलीले चलाउन सकेनन्।

केन्द्रसहित ५ वटा प्रदेश सरकारबाट बाहिरिएर ओली नेतृत्वको एमाले अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा खुम्चिएको छ। इतिहासदेखि एमाले बनाउन दिलोज्यान दिने सहकर्मी नेता र कार्यकर्ताहरु गुमाएको छ, पार्टी विभाजित भएको छ। यसको आक्रोश र पीडा त छँदैछ, यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको एमालेको १०औँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ।

त्यसका लागि चितवन यतिबेला दुलहीझैं सिंगारिएको छ। शान्त बगिरहेको नारायणी किनारामा महाधिवेशनको विशाल मञ्च बनाइएको छ। प्रधानमन्त्रीका रुपमा ओलीले गरेका बाचा पूरा नभए पनि उनको भनाइको अनुशरण गर्दै नारायणी नदीमा यतिबेला पानी जहाजको झल्को दिने गरी मोटरबोट सञ्चालनमा छन् । स्थानीय युवाले नारायणी नदीमा मोटरबोट चलाएर आफ्नो जीविकोपार्जन गरेका छन् भने पर्यटकले पनि पानी जाहाज चढेको अनुभूति गर्ने गरेका छन्।

एमाले अध्यक्ष ओली आगामी निर्वाचनमा एमालेले फेरि बहुमत प्राप्त गर्ने र मूल ढोकाबाट पसेर सरकार चलाउने दाबी गरिरहेका छन्। यतिबेला एमाले विभाजित छ। एमालेविरुद्ध ५ दलको गठबन्धन छ। तै पनि ओलीले एमाले बहुमतमा पुग्ने र सरकारको नेतृत्व गर्ने दाबी गर्न भने छोडेका छैनन्।

आगामी ५ वर्षका लागि पार्टी नेतृत्वमा पुनः निर्वाचित हुँदै गर्दा ओलीले नारायणी नदीको किनारामा बनेको विशाल मञ्चबाट नारायणी नदीमा चलेका मोटरबोट पक्कै देख्ने छन्। र सहजै आफ्नो लालित्य बोलीले दोहोर्‍याउने छन् -नेपालमा पानी जहाज चल्न थालिसके। हेर्नुहोस् नारायणी नदीमा। अब अन्य नदी र समुद्रमा पनि नेपालको आफ्नै पानी जहाजका लागि फेरि एमाले सरकारमा जानु पर्छ।

आम जनताले पठाउने छन् । तर, के ओलीले देखाएका सपनाहरुको विस्कुन लगाएर एमाले नेता कार्यकर्ताहरु नारायणी नदीको हावा खाएर गाउँ गाउँ फर्केलान् ? वा देखाएका सपनाहरु पूरा गर्नेतर्फ के पहल गर्यौं भनेर ओलीमाथि औंला उठाउलान् ? सपना त देखायौं तर ती कहिल्यै पूरा नहुने त्रास भो हामीलाई भो अव थप सपनाका विस्कुन नलगाऊ, असरल्ल सपनाहरु समेट र अघि बढ भन्ने आँट देखाउने कोही निस्केलान् कि ?

देशभरबाट एमालेका प्रतिनिधि र विदेशी पाउना चितवन आएका छन् र आउने क्रम जारी छ । यो दशौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
एमालेमा कम्तिमा १५ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गर्नु पर्ने मत बलियो भए पनि त्यो सम्भावना टर्दै गएको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *