विश्वभरीका देशहरुले आफूलाई प्रशंशा गर्नुपर्नेमा उल्टै सजाय दिएको दक्षिण अफ्रिकाको गुनासो
दक्षिण अफ्रिकी विदेशमन्त्री नालेदी पान्दोर
काठमाडौं। दक्षिण अफ्रिकाले विश्वभरीका देशहरुसँग असन्तुष्टि जनाउँदै ती देशहरुले आफ्नो प्रशंशा गर्नुपर्नेमा उल्टै सजाय दिएको बताएको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विकसित भएको पत्ता लगाएर यसबारे जानकारी दिँदै विश्वलाई सचेत बनाएकोमा आफ्नो प्रशंशा हुनुपर्नेमा त्यसो नगरी उल्टै सजाय दिइएको दक्षिण अफ्रिकाको आरोप छ ।
दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले एक बयान जारी गर्दै दक्षिण अफ्रिकाले यो नयाँ भेरिएन्ट फैलिइरहेको बारेमा विश्वलाई सूचित गरेका कारण दक्षिण अफ्रिकामाथि सबैतिरबाट यात्रा प्रतिबन्ध लगाइएको गुनासो पोखेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरिएन्टका विषयमा चिन्ता व्यक्त गरेको छ । उसले यो भेरिएन्टलाई प्राविधिक भाषामा चिन्ताजनक भेरिएन्छ (भेरिएन्ट अफ कन्सर्न) भनेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ ।
डब्लुएचओले चेतावनी दिँदै यो निकै तीब्र रुपमा र ठूलो संख्यामा म्युटेट हुने भेरिएन्ट भएको बताएको छ । डब्लुएचओले यो नयाँ भेरिएन्टको पहिलो जानकारी २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पाएको थियो । यसका अलावा बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरिएन्टका केस भेटिएका छन् । अहिले युरोपमा पनि यो भेरिएन्टका कैयौं केस भेटिएका छन् । बेलायत, जर्मनी, बेल्जियम, इटली, चेक रिपब्लिकमा पनि यो भेरिएन्टका केस भेटिएका छन् ।
इजरायलमा पनि यो भेरिएन्टको पहिचान भएपछि इजरायलले आइतबार मध्यरातदेखि सबै विदेशीलाई देशमा आउन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध १४ दिनसम्म रहनेछ । दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेका सयौं यात्रीको परीक्षण गरिएको छ । टच अधिकारीका अनुसार दक्षिण अफ्रिकाबाट एम्सटर्डम पुगेकामध्ये ६१ जना कोभिड पोजेटिभ पाइएका छन् तर भेरिएन्टको पुष्टि हुन बाँकी छ ।







डिसी नेपाल







Facebook Comment